Pokharapatra National Daily

जरोटुप्पोको वाङ्मय सम्मान डा भण्डारीलाई प्रदान गरिने

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा स्थापित इन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा पुष्पा केसी भण्डारीलाई प्रदान गरिने भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो । प्रतिभा छनौट समितिको सदस्यमा नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपाने, वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला र पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी र संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारी रहुनभएको थियो । भण्डारीलाई रु १० हजार एक सय राशि र दोसल्लासहित सम्मान गरिने समाजका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिनुभयो । पुरस्कार नाट्यसम्राट बालकृष्ण समको १२१औँ सम जयन्ती समारोहका सन्दर्भमा यही माघ २४ गते प्रदान गरिने भएको छ । आफ्ना बुबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसीले परिवारजनका तर्फबाट रु एक लाख ६१ हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको थियो । अक्षयकोषको ब्याज रकमबाट संस्थाले उक्त सम्मान गर्न लागेको हो । भण्डारीका ‘केही सुसेलीः केही सुस्केरा’ कवितासङ्ग्रह, ‘सङ्गम’ र ‘जिन्दगीको दोसाँधमा’ मुक्तक सङ्ग्रह प्रकाशित छन् । उहाँ सिर्जना साहित्य सदन घाचोक र हेमजा साहित्य प्रतिष्ठानकी संरक्षकसमेत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्