Pokharapatra National Daily

आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता सुरु

आयोजक सहारा क्लबलाई ११ बर्ष पछि बदला लिदा धरान फुटवल क्लव आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता २०७९ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा विहिबार भएको उद्घाटन खेलमा धरान फुटवल क्लवले आयोजक सहारालाई १–० को झिनो गोल अन्तरले पराजित गरी ११ बर्षको हारको बदला लिदा २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कपको अन्तिम ८ मा यात्रा बनाएको हो ।
धरानको जितमा म्यन अफ दी म्याच घोषित भएका प्रकाश बुढाथोकीले खेलको सुरुवातमै गरेको गोल निर्णायक बन्यो । उनले पाएको फ्रिकिक वललाई सिधै पोष्टमा दिशा दिएका हुन्। खेलको सुरुवातमै एक गोल खाएर दबाबमा परेको सहाराले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा धरानसंग हार्नु पर्यो । ११ बर्ष अघि सहारासंग उद्घाटन खेलमा पराजित भएको धरानले भने यस बर्षको आहा रारा पोखरा गोल्ड कपबाट बदला लिएको छ ।
२०६७ मा नवौं र दशैं आहा रारामा धरान सहारासंग उद्घाटन खेलमै पराजित भएको थियो । १२ औं आहा रारा गोल्ड कपको उपाधि जितेको सहाराले यस बर्ष उपाधि जित्ने लक्ष्य सहित करिब केही महिना देखि तयारी गरेको थियो । धरानका प्रशिक्षक सागर घिमिरेले खेलको सुरुवातमै पाएको अवसरमा गोल हुनु नै आफुहरुको लागि जित सहज भएको बताए । अर्को खेलमा थप केही खेलाडीहरु हुने हुदा थप खेल परिस्कृत हुने उनले दाबी गरे । सहाराका प्रशिक्षक प्रलाद हिराचनले पाएका केही अवसर सदुपयोग गर्न नसक्नु र विपक्षिको डिझेन्स लाइन बलियो भएकोले आफुहरु पराजित हुनु परेको बताए । सहारा क्लव यस अघिका लगातार दुई बर्ष उद्घाटन खेलमा एपिएफ क्लवसंग पराजित भएकोे थियो । यसैबिच भोलि शुक्रबार भने दोश्रो प्रि क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लव र चर्च व्वाईज यूनाइटेडसंग दिउसो २ः०० बजे पछि भिड्ने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्धेश्यका यही पुष २३ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरे । कार्यक्रममा बोल्दै उनले पोखरामा हुने यस्ता खेलकुद गतिविधिले पोखराको खेल पर्यटनसगै खेलाडीहरुको समेत विकास हुने बताए । कार्यक्रममा राखेप सदस्य राजेश कुमार गुरुङ, हिमश्री फुड्सका निर्देशक प्रकाश केसी लगायतले उक्त प्रतियोगितलाई सफल पार्न सहयोग गर्ने बताए ।
उक्त प्रतियोगितामा अमेरीकाको एक टोली सहित १० टिमको सहभागिता रहेको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । प्रतियोगिताका बिजेताले यस बर्ष १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२ औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधामा जनही २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलमा म्यान अफ दी म्याचमा समेत ८ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
यसैबिच उद्घाटनको अवसरमा सर्वोउत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारबाट अनन्त तामाङलाई प्रदान गरिएकोे छ । उक्त पुरस्कारको राषि भने यस बर्ष १५ हजार ५ रुपैथा थप गरी ५० हजार ५ रुपैया पुराइएको हो । प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको क्लवले जनाएको छ । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ । तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेका छन् ।
सहारा क्लब पोखराले संचालन गर्ने प्रतियोगितामा विगतमा झंै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता अवधिमा एक लाख बराबरको चाउचाउ वितरण गरिने भएको छ । गत बर्षको विजेता शसस्त्र प्रहरी बलको एपिएफ क्लव हो । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्