Pokharapatra National Daily

मैत्रिपूर्ण फुटवलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी

पोखरा रंगशालामा बुधबार भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।
काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक एक गोलको योगदान दिए । काथेरेन्योले पहिलो हाफमा गण्डकी ११ माथि २—० को अग्रता कायम गरेको थियो । पहिलो हाप देखि खेलमा निकै हावी भएको काथेरेन्यो क्लबले पाएका केही अवसर खेर समेत गएका थिए । डिवक्स भित्रबाट उत्कृष्ट गोल गरी अग्रता दिलाएका कार्मीलो गोल भएको केही मिनेटमै स्पेनका पुर्व राष्ट्रिय खेलाडी भेट्रान मिचेल डिबक्स भित्र बाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए ।
गण्डकी ११ ले शुरुवात देखि नै रक्षात्मक खेल खेलेको थियो । दोस्रो हाफमा गण्डकी ११ ले केहि खेल सुधारिएको प्रस्तुतः गर्न खोजे पनि स्कोर भने निकाल्न सकेन । गण्डकीका जय गुरुङले प्रहार गरेका वल पोष्ट माथिबाट बाहिरएको थियो भने गण्डकीले खासै पोष्टचार्ज गर्ने अवसर पाउन सकेन ।
काथेरेन्यो क्लबका प्रशिक्षक जुलियो कोभोसले दुबै टिमले राम्रो खेलेको बताउदै नेपालको खेल निकै फाष्ट हुने गरेको बताए । पुनः अवसर पाएमा नेपाल आउने इच्छा भएको उनले जनाए । नेपालीहरुको खेलाडीहरुले एयरवलको पक्ष कमजोरी भएको प्रशिक्षक कोभोसले बताए ।
गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले विदेशी व्यवसायीक फुटवल टिमसंग आफ्नै मैदानमा खेल्न पाउनु खुसिको कुरा भएको बताए । स्पेनजस्तो देशको खेलमा छोटो समयमा तयार पारेको गण्डकीले सन्तोसजनक खेल खेलेको उनले जनाए । गण्डकीका कप्तान अनिल गुरुङले शारीरिक तथा टेक्निकल रुपमा उनीहरु भन्दा आफुहरु कमजोर भएको बताए । स्पेनको बी डिभिजनको क्लवसंग आफुहरु खेल्दा युवा खेलाडीलाई प्रोत्साहन हुने नेपाली टिमका पूर्व कप्तान समेत रहेका गुरुङले बताए । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ समेत गण्डकी ११ को टिमबाट मैदानमा उत्र्रिएका थिए । नेपाली खेलाडीहरुले स्पेनका खेलाडीहरुलाई ढाका टोपी लगाएर स्वागत गरेका थिए । उक्त अवसरमा वक्सिङका पूर्व खेलाडी गणेश भट्टराईले स्पानिस फुटवल क्लवका उपाध्यक्ष रोचालाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
यस अघि उक्त प्रतियोगिताको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले स्पेन जस्ता देशका खेलाडीहरु नेपाल आउनु नेपालको खेलकुदमा यसले छुट्टै सम्भावना र विकास गराउन मद्धत पुग्ने बताए । राज्यले खेलकुदमा धेरै लगानी गर्न नसकेको बताउदै उनले नेपालको खेलकुदको विकासमा निजी र खेल संघ तथा राज्यको सहकार्य र विभिन्न संघ संस्थाको समन्वयन हुन आवश्यक भएको बताए । राजनीतिक दलका नेताले पनि अब खेलकुद बुझ्नु पर्ने समय आएको अध्यक्ष तिमिल्सिनाले जनाए । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा, कृषि मन्त्री चन्द्र बहादुर बुढा, सांसद खगराज अधिकारी लगायतको सहभागिता रहेको थियो । लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोसे म्यानुयलले बुद्धको जन्म भुमि नेपालमा आएर फुटबल खेल्दै खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताए । काथेरेन्यो क्लबका अध्यक्ष कार्लोसले स्पेनको बि डिभिजनको माथिल्लो स्तरको क्लब भएको दाबी गर्दै अब ए डिभिजनको लागि तयारी गरेको जनाए । कास्की जिल्ला फुटवल संघको सहकार्यमा उक्त खेल पोखरामा भएको हो । भोलि विहिबार काठमाण्ठौं ११ संग स्पेनको टोलीले मैत्रिपुर्ण खेल लेन्ने भएको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।

प्रतिकृया दिनुहोस्