Pokharapatra National Daily

पराजयको जिम्मेदवारी मै लिन्छु, दोष कसैलाई दिन्नः पहारी

गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।
गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उनले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास बराललाई बधाई ज्ञापन समेत गरे । ‘लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनता बाट जिम्मेवारी प्राप्त गर्नु हो र उप बिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ । यहि मसिर ४ गते सम्पन्न भएको निर्बाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र अमूल्य मतका लागि कास्की ३(२) का आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । निर्वाचन अभियानका क्रममा प्राप्त बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा, पार्टी पंक्ति नेता÷कार्यकर्ताको समसाथप्रति म आभारी छु’–पहारीले भनेका छन् ।
पहारीले विगत दुई महिनादेखि सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी नेता÷कार्यकर्ता कमरेडहरु, घर दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, अभियानमा जुटेका साथीहरु, मतदानकै लागि देश बिदेशबाट छुट्टी मिलाएर आएका शुभचिन्तक, माहौल सिर्जना गर्न अहोपात्र खटिने सिर्जनशिल कलाकार र स्वयंसेवकहरु सबैप्रति कृतज्ञ रहेको जनाएका छन् । ‘भौतिक रुपमा उपस्थित हुन नसके पनि विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नु हुने एवं प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।
निर्बाचन अभियानको सार्थक कभरेजका लागि सबै सञ्चारकर्मीहरु र निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, मतदान अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु–पहारीले आभार वक्तव्यमा उल्लेख गरेका छन् । निर्वाचन पराजयको जिम्मेदवारी आँफैले लिंदै उनले भनेका छन्– ‘निर्बाचन जित्दा मेरो कारणले र हार्दा अरुका कारणले भनि आरोप प्रत्यारोप प्रवृत्तिबाट माथि उठि यस प्रतिकूल परिणामको नैतिक जिम्मेवारी म मेरै काँधमा लिन्छु । यस परिणामको ठण्डा दिमागले बस्तुनिष्ठ समिक्षा गर्दै यसलाई भबिष्यको राजनीतिक मार्ग दिशाकालागि पाठको रुपमा ग्रहण गर्ने बाचा गर्दछु ।’

प्रतिकृया दिनुहोस्