वि.स.२०५६ साल माघ १ गतेबाट आफ्नो यात्रा शुरु गरेको पोखरापत्र दैनिकले २१ वर्ष पुरा गरेको छ । कोभिड–१९ को महामारीका कारण साना लागानीका पत्रिकालाई जोगाउनै धौ धौ परेको छ । कोरोना महामारीको कारण सबै क्षेत्रमा असर पुगेको छ । साना लगानीका संचार माध्यम प्रकाशित हुन सक्नु ठुलो युद्ध जिते जस्तै भएको छ । अनेक प्रतिकुलताका बाबजुद पोखरापत्रले कठिन यात्रा पार गरेको छ । यो अवधिसम्म प्रदेश स्तरको ‘क’ वर्गमा परेको छ । पोखरामा २००८ सालमा हस्तलिखितबाट पत्रिका शुरु भएको थियो । दर्ता गरेर प्रकाशन सुरु २०१५ सालबाट भएको हो । मिसनको रुपमा थालिएको पत्रकारिता पञ्चायतको अन्त्यपछि व्यावसायिक बन्न प्रयास गरेको हो । बहुदलीय खुला अवस्था पछि बल्ल पत्रकारिता व्यवसायिक र जनताप्रति जवाफदेही बन्नुपर्छ भन्ने मान्यताको विकाश हुदै गएको छ । स्थानीय र प्रदेश स्तरका संचारमाध्यमले नै भुई तहका जनताको आवज दिन सक्छन् । तिनै संचार माध्यमले राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन सक्छन् । त्यस्ता संचार माध्यमलाई टिकाउनका लागि स्थानीय तह र प्रदेश सरकारले सघाउनुपर्छ भन्ने मान्यता अझै आउन सकेको छैन् । कागजमा संघीयता आएपनि व्यवहार र मानसिकतामा आउन सकेको छैन् । अझै पनि संघीय सरकारको लोक कल्याणकारी विज्ञापनलाई आधार मान्नुपर्ने अवस्था विद्यमान छ । जवसम्म स्थानीय र प्रदेश सरकारले पत्रपत्रिकालाई संरक्षण गर्ने निति लिन सक्दैन तव सम्म दिर्घायू हुन सक्दैनन् ।
अनेकौ चुनौतीलाई पार गर्दै पोखरापत्रलाई यो अवस्थासम्म ल्याई पु¥याउने अहोरात्र खट्ने सहकर्मीको मेहनत, लगनशिलता र ईमान्दारिताको प्रतिफल हो । जसले शुरुका अवस्थामा मेहनत, परिश्रम लगाए त्यसैको जगमा टेकेर हामी यो अवस्थामा आएका हौँ हाम्रा पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुको मायाले नै हामीलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ । सूचना प्रविधिको विकाशले गर्दा पत्रपत्रिकालाई अगाडी बढ्न चुनौती खडा भएको छ । हिजोको अवस्थाबाट आज अगाडि बढ्न सहज छैन् । हरेक व्यक्तिले ताजा समाचार सजिलै पाउँने अवस्था प्रविधिले विकाश गरेको छ । प्रविधिसंग संगसंगै जान नसक्नेले यात्रा परिवर्तन गरेका छन् । अहिलेको खाँचो जनतालाई सत्यतथ्य समाचार र समाजलाई अग्रागामी बाटोमा लैजाने विचारको खाँचो छ । पाठकले रुचाएको र खोजेका विषय दिन नसक्दा पत्रिका जन्मने र मर्ने पनि भएका छन् । डिजिटल पत्रिका चर्चित र लोकप्रिय बन्दै गएको छ । सामजिक सञ्जालको विकासले गर्दा हरेक कुरा तत्काल थाहा पाउने अवस्थाको विकास भएको छ । संचार क्षेत्रमा आएको परिवर्तनले गर्दा छापा पत्रकारिता क्षेत्रले धेरै चुनौतीको सामना गर्नुपरेको छ । जनताले सही र तथ्ययुक्त समाचार पाउँन अझै सकेका छैनन् । पत्रकारिता आवाजहिनको आवाज बन्नुपर्नेमा अझैपनि शास्त्रीय राजनीतिक विषयबस्तुले मात्रै प्राथमिकता पाउने गरेको छ । लोकतन्त्रको प्रतिफल जनताले अनुभुत गर्ने पाएका छैनन् । व्यवस्था फेरिए पनि नेताहरुको प्रवृतिमा परिवर्तन आएको छैन । जनताका सरोकारका विषय संचारमाध्यमले दिनुपर्ने अहिलेको अहम् चुनौती हो । जनताले बहुमत दिएर पठाएको सरकारले पूरा अवधि चलाउन नपाउदै प्रतिनिधि सभा विघटन हुनु, सत्तारुढ पार्टी नेकपा विभाजित हुदाँ देश अस्थिरता तिर रुमलिदै छ । आउँदो बैशाखमा निर्वाचन घोषणा त भएको छ अदालतले के फैसला गर्छ भन्ने अन्योलता छ । निर्वाचन आयोगले कुन पक्षलाई आधिकारिकता दिन्छ भन्ने कौतुहता सबैमा छ । यस्तो बेला पत्रकारिताले दल र नेताको मुखपत्र हैन लोकतान्त्रिक प्रणाली, परम्परा र जनताको अधिकार कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयलाई उठाउनु पर्ने भएको छ । राष्ट्रियताको पक्षमा खडा हुनुपर्ने अवस्था छ ।
राज्यले साना लगानीका संचार माध्यमलाई संरक्षण नगर्ने र कोभिडका कारण तहसनहस भएको आर्थिक अवस्थामा सुधार नआई संचार माध्याम उभिन सक्ने अवस्था हुदैन । स्थानीय र प्रदेश सरकार पनि ठूला लगानीका मिडियालाई नै महत्व दिने गरेका छन् । स्थानीय र प्रदेश सरकारको नीति एकातिर व्यवहार अर्कोतिर छ । केन्द्रीकृत मानसिकताका कारण केन्द्रबाट प्रकाशित हुने पत्रिकामा विज्ञापन गरेर प्रदेश र स्थानीय सरकारले करको दुरुपयोग गरेका छन् । अभिजात्य वर्ग, ठूला व्यापारिक घराना, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले संरक्षण पाउने नीतिलाई प्रदेश सरकारले बदल्न सकेका छैनन् । संघीयतालाई वलियो बनाउन र आधारभूत जनताको पक्षमा रहने संचार माध्यमलाई संरक्षण र प्रोत्साहन गर्नु पर्दछ । नयाँनयाँ कानुन बनाएर प्रेसलाई नियन्त्रण गर्न खोज्दा लोकतन्त्र बलियो हुन सक्दैन् । धेरै जरिवान र सजाय दिएर मात्र तह लगाउन सकिन्छ भन्ने मान्यता अहिलेको खुला समाजलाई सुहाउने कुरा होईन । प्रेस स्वतन्त्र भएमा लोकतन्त्र वलियो हुन्छ । स्वच्छन्दता नेपाली प्रेसले खोजेको होईन । स्वच्छन्दतालाई निहु बनाएर स्वतन्त्रतालाई रोक्नु हुदैन ।
नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । प्रेसले स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्नेमा पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाका साथै संचारमाध्यमलाई संरक्षण र प्रबद्र्धन गर्ने नीति राज्यले नलिएसम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानमा लेखेर मात्र पुग्दैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति व्यवहारमा देखिनु पर्दछ । प्रेसका थुप्रै चुनौतीका बाबजुद पोखरापत्र यो अवस्थामा ल्याउन हामीलाई पाठक विज्ञापनदाता शुभेच्छुकहरुको माया“ र स्नेहका कारणले सम्भव भएको हो । हामीलाई अविचलित रुपले अघि वढन प्रेरणा दिने हाम्रा सहकर्मी, पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुप्रति आभार प्रकट छौं ।