Pokharapatra National Daily

गायक बिनोद बाँनियालाई ‘एसियन प्रोफेसनल अवार्ड’

पोखराका गायक बिनोद बाँनियाले ‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२२’ मा अवार्ड जित्न सफल भएका छन् । सिजन मिडियाले आफ्नो १४औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरेको यो अवार्ड कार्यक्रममा बाँनियाले ‘भर्सटाइल सिङ्गर अफ द इयर अवार्ड’ हात पारेका हुन् ।
२०५७ सालमा माया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी पोखराबाट औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका बाँनियाका ‘मान्छे’, ‘डाउट’ र ‘प्रोफाइल’ एलबम बजारमा आइसकेका छन् । एलबमका अलावा विभिन्न फुटकर गीतका कारण उनको परिचय बेग्लै बनेको छ । पप, आधुनिक, गजल, राष्ट्रिय तथा खेलकुद गरी झण्डै ५० को हाराहारीका गीतमा उनले आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यतिनै गीतमा संगीत समेत गरेका बाँनियाले केही गीत रचना गर्न समेत भ्याएका छन् । छोटो फिल्म फेम’ निर्देशन गरिसकेका बाँनियाले नेपाली फिल्ममा ‘दयारानी’मा गीत मार्फत पाश्र्व गायकको रुपमा उनले काम गरेका छन् । जुन चलचित्र केही समय पछि आउने तयारीमा छ ।संगीतमा डिप्लोमा गरेका उनी विगत १६ वर्षदेखि पोखरामा रहेको सैनिक आवासिय महाविद्यलयमा कुशल संगीत प्रशिक्षकको रुपमा क्रियाशिल छन् । सोही विद्यालयका बिद्यार्थीहरुको आवाज तथा बाँनियाकै संगीतमा बालगीतहरुको संग्रह “आलोक“ पनि सार्वजनिक भैसकेको छ । कुनै बेला लामो समय सम्म रेडियो प्रस्तोता समेत रहेका बानिया पोखरामा रहेको बिग एम का संस्थापक निर्देशक पनि हुन । करिव साढे दशक लामो सांगितिक यात्राका क्रममा २०५७ सालमा नारायण गोपाल संगित कोषद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा क्षेत्रिय स्तरमा प्रथम तथा राष्ट्रिय स्तरमा द्वितिय, वेष्ट सिङर अफ दि इयर २०६०, ढुकढुकी पप अवार्ड,वेष्ट नेशनल सङ्ग सिङर,नेशनल गण्डकी वेष्ट मोर्डन सिङर लगायत थुप्रै संघसंस्थाबाट सम्मानित तथा पुरस्कृत भैसकेका छन् ।
‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२२’ मा ‘भर्सटाइल सिङ्गर अफ द इयर अवार्ड’ हात पारेपछि प्रतिक्रिया दिदै उनले सांगीतिक क्षेत्रमा अगाडि बढ्न थप उत्साह थपेको बताए । सबै संगीतप्रेमीको साथ सर्पोटको कारण यो सम्भव भएको बताउदै उनले नयाँ नयाँ सांगीतिक कोसेली मार्फत दर्शक श्रोतासँग् निरन्तर जोडिने बताए । अवार्ड कार्यक्रम सेप्टेम्वर २९ मा दुबइमा वितरण भएको थियो । दुवइमा जान नपाएका अवार्ड विजेतालाई हालै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर अवार्ड प्रदान गरिएको हो । गायक बानियालाई पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराईले अवार्ड प्रदान गरे ।सिजन मिडियाले सामाजिक, साँस्कृतिक, शैक्षिक, खेलकुद र व्यावसा ियक क्षेत्रमा दशकौँदेखि काम गरेर स्थापित भएका व्यक्तिको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्यले अवार्ड वितरण गर्ने गरेको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए । सन् २०१९ मा दुबइमा भएको उक्त कार्यक्रम कोरोनाका कारण २०२१ मा काठमाडौँमै गरिएको थियो । अबको कार्यक्रम कम्बोडियामा गर्ने वन्तले बताए । यसपटक बङ्गलादेशका बरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड समर्पण गरिएको थियो । यस्तै नेपाललगायात अन्य देशका प्रतिनिधिहरुलाई दुवइमानै विभिन्न विधाका अवार्ड प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्