
संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले हालै स्थानीय तहमा निर्वाचित आफ्ना शेयर सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानिया, मादी ४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा, पोखरा महानगर कार्यपालिका सदस्य मन्दिरा परियार र वडा १५ का सदस्यहरु बलराम पौडेल, आशिष भण्डारी र सेतिमाया गुरुङलाई निर्वाचित भएकोमा बधाई दिदै सहकारीका अध्यक्ष निरज थापाले नागरिकले देख्न र बुझ्न सक्ने गरि आफ्ना वडाको बिकास गर्न शुभकामना व्यक्त गरे । गर्नुपर्ने र गर्न सकिने थुप्रै कामको फेहरिस्त नागरिक र स्थानीय संघसंस्थासँग हुने भएकोले उनीहरुसँगको सल्लाह र सहकार्यमा अगाडी बढ्न पनि उनले सुझाए । साथै वडा १५ कै पहिलो संगम सहकारी पनि स्थानीय तह सँग मिलेर काम गर्न तयार रहेको थापाले बताए ।
पोखरा १५ का अध्यक्ष तोरण बहादुर बानियाले वडाको भौतिक बिकासका सँग मानवीय बिकासलाई पनि जोड्दै अघि बढ्ने बताए । मादी ४ का अध्यक्ष शिव प्रसाद सापकोटाले यस क्षेत्रका नागरिकले मत दिन नपाए पनि मन दिएकाले आफू बिजयी भएको बताउदै आफू सधै इमानदारीसाथ निष्ठावान भएर वडाको बिकासमा लागिरहने बताए । कार्यपालिका सदस्य मन्दिरा परियारले आफू पनि छिट्टै संगम सहकारीसँग जोडिन चाहेको बताइन् ।
संस्थाका उपाध्यक्ष नवराज तिवारीले आफ्ना सेयर सदस्यहरुलाई जनप्रतिनिधिको रूपमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । लेखा संयोजक भोविन्द्र गिरी र सल्लाहकार संयोजक कृष्ण प्रसाद ढकालले जनप्रतिनिधिहरुलाई सेयर सदस्यको नाताले कारोबार वृद्धिमा साथ दिन अनुरोध गरे । कार्यक्रममा संस्थाका सचिव धनराज पुरी, संचालक सदस्य बिष्णु कुमारी थापा लगायतले शुभकामना दिएका थिए ।