Pokharapatra National Daily

विशाल शिव मूर्ति धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तब्यः प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधिन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताउनु भएको छ ।
सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तब्य रहेको र विशाल शिव मूर्तिले धार्मिक पर्यटकलाई आर्कषित गर्न बताउनुभएको हो । उहाँले नेपाल प्राकृतिक सांस्कृतिक एवम धार्मिक रुपमा धनि रहेकाले यसको विकास र संरक्षणमा ध्यान दिन सके अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका कारण धेरै मानिसहरुले शान्त र आध्यात्मिक ठाउँहरुको खोजी रहेको जनाउँदै उहाँले कोरोना कम हुँदै गएपछि यस क्षेत्र धार्मिक एवम् अन्य पर्यटकको लागि समेत रोजाइमा पर्ने उहाँको विश्वास थियो ।
पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवम् परिकल्पनाकार चन्द्रकान्त बरालले सो मुर्तिको बारेमा प्रदेश प्रमुखलाई विस्तृत जानकारी गराउनु भएको थियो । बराललका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमिनलाई तीस वर्षकालागि भोगाधिकारको लिएर मूर्ति निर्माण गरिएको हो । नेपालकै अग्लो दाबि गरिएको सो शिव मूर्ति ४० करोड लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएकोसो कार्यका लागि हालसम्म २० करोड खर्च भइसकेको छ । हिल ट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले सो शिवको मूर्ति प्रदान गर्नुभएको । भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टीलबाट निर्माण गरिएको छ । पर्यटकको बसाईं लम्बाउनुका साथै धार्मिक पर्यटकीय गन्तब्यको लागि उत्कृष्ट गन्तब्य बन्ने विश्वास अध्यक्ष बरालको छ । संघ सरकार, प्रदेश सरकार र पोखरा महानगर पालिका लगायत विभिन्न ब्यक्ति र संस्थाहरुले आर्थिक सहयोग गरेको बरालले जानकारी दिनुभयो । समितिले मूर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर ६ करोड भन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । मूर्ति पाँच वर्ष भित्र निर्माण कार्य सक्ने लक्ष्य लिए पनि आर्थिक अभाव र कोरोनाका कारण निर्माण कार्य केही ढिला हुन पुगेको उहाँको भनाइ छ । अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जंगलका जंगली जनावरको गतिविधिलाई समेत नियाल्न सकिने छ । शिवको वृहत चिनारी सहित १ सय ८ शिवलिङ्ग, १ सय ८ स्वर्गद्धारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङ स्थल, लगायतका संरचना निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । पुम्दीकोट धार्मिक रुपमा समेत शक्ति पिठ भएको जनाउँदै शिव मूर्ति निर्माणले यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्दै लैजाने उक्त वडाका अध्यक्ष मित्रलाल बरालले जानकारी दिनुभयो ।
बरालका अनुसार पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको सो स्थानबाट हिमश्रृङखला फेवाताल लगायतका मनोरम दृश्य देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्