Pokharapatra National Daily

जनप्रिय बहुमुखी क्याम्पस सर्वोत्कृष्ट

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त जनप्रिय बहुमुखी क्याम्पसको विविए सङ्कायका दुई जना विद्यार्थी नेपाल भरिकै प्रथम, दुई जना विद्यार्थी दोस्रो र एक जना विद्यार्थी तेस्रो हुन सफल भएका छन् ।
त्रिविले गत फागुनमा भौतिक रूपमा सञ्चालन गरेको परीक्षाको नतिजा गत शुक्रबार प्रकाशन गरेको थियो । नजिता अनुसार विविए सङ्काय तेस्रो सेमेष्टरको परीक्षामा छात्रा अस्मिता रेग्मी र सलोनी बुद्धाचार्यले ३.९९ जिपिए ल्याएर नेपाल टप गरेका छन् भने छात्र विधान अधिकारी र छात्रा निशा ढकालले ३.९८ जिपिए ल्याएर नेपाल भरिमै दोस्रो भएका छन् त्यस्तै छात्र रूद्रप्रसाद कडेँलले ३.९७ जिपिए सहित तेस्रो स्थान हाँसिल गर्न सफल भएका छन् । यसरी एकै पटक पहिलो, दोस्रो र तेस्रो स्थानमा कब्जा जमाएको यो पहिलो पटक हो । यसअघि पनि जनप्रिय क्याम्पस विविएका विद्यार्थी निञ्जु थापा र सन्ध्या घिमिरेले नेपाल टप गरेका थिए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले वि.सं. २०६० सालमा उपत्यका बाहिर पहिलो पटक विविए कार्यक्रम ल्याएर उच्चशिक्षाको विकासमा योगदान दिएको बताए । जनप्रियले गुणस्तरको कसीलाई कायम राख्दै विद्यार्थी भर्ना छनौटमा निष्पक्षता अप्नाउँदा, छानिएका सही विद्यार्थीले आफ्नो क्षमता देखाउँदा नै उत्कृष्ट नजिता ल्याउन सफल भएको दावी गरे । विविए तथा विआइएम कार्यक्रमका संयोजक मेखराज पौडेलले प्राध्यापक र विद्यार्थीको संयुक्त मिहेनत, पुस्ताकालय, ल्यावको उचित प्रबन्ध साथै शैक्षिक वातावरणको उपज नै उत्कृष्टता हाँसिल गर्ने बेञ्चमार्क भएको बताए । प्रकाशित नतिजाका सबै विधा कब्जा गर्न सक्नु जनप्रियको सान भएको छ यसले क्याम्पसको आयाम र आयतन स्थानीय तहमा मात्रै सीमित नगरी राष्ट्रिय तहमा पु¥याएको जनाए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले उत्कृष्ट नजिता हाँसिल गरेका विद्यार्थीलाई बधाई ज्ञापन गर्दै चालु सेमेष्टरका विद्यार्थीलाई उर्जा र उत्साहसहित पढेमा सफलता हात पार्न टाढा जानु पर्दैन भन्ने सन्देश दिएका छन् । कोभिड–१९ ले लकडाउन सिर्जना गरेपछि क्याम्पसले सबै सङ्कायको पठन पाठन माइक्रोसफ्ट टिम्सबाट ‘भर्चुअलमा’ सञ्चालन गरेको छ । युजिसीबाट १२ लाख ५० हजार सहयोग लिएर पठनपाठन अनलाइनमार्फत् सञ्चालन गरेको क्याम्पसले भौतिक दूरी कायम गर्दै परीक्षा पनि चलाएको थियो । मानित विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । एमविए इन हस्पिटालिटी म्यानेजमेन्टको चालु शैक्षिक सत्रका लागि भर्ना लिइरहेको उप प्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको छ ।

प्रतिकृया दिनुहोस्