Pokharapatra National Daily

मुख्यमन्त्री गुरुङ पदमुक्त

विपक्ष गठबन्धन नयाँ सरकार बनाउने गृहकार्यमा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन् । बिहीबार गण्डकी प्रदेश सभामा भएको विश्वासको प्रस्ताव माथि मतदान हुँदा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत परेसंगै उनको नेतृवको सरकार ढलेको छ ।
६० सांसद रहेको प्रदेश सभामा ३१ मत पु¥याउन नसके पछि गुरुङ पदमुक्त भएका हुन्। उनको विपक्षमा भने ३० मत परेको थियो । प्रदेश सभामा सभामुख नेत्रनाथ अधिकारी सहित ६० सांसद रहे पनि विहीबारको मतदानमा ५७ जना मतदाता सहभागि भएका थिए । एक स्वतन्त्र सांसद सांसद दीपक गुरुङ (राजीव मनाङे) मतदानमा अनुपस्थित भए भने जनमोर्चाबाट कारवाहीमा परेका सांसद कृष्ण थापाले पक्ष तथा विपक्ष कसैलाई पनि मत नदियर तटष्थ रहे । यदि दुबै तर्फ बराबरी मत भएको खबस्थामा मात्र सभामुखले मतदान गर्न पाउने प्रावधान रहेको छ ।
गुरुङ पछिल्लो पटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान भएकोले उनले बिहीबार सदनमा विश्वासको मत दिन माग समेत गरेका थिए । अब प्रदेश प्रमुखले १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्ने भएकी छन् । गुरुङको नेतृत्वमा रहेको सरकारमा युवा तथा खेलकुद मन्त्री भएका दीपक मनाङेले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर दिएको माओबादी केन्द्रका एक सांसद एवं पूर्व मन्त्री लेखबहादुर थापा मगरले बताए । बुधबारकोे मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका मनाङे विहिबार दिनभरी जसो सम्पर्कविहीन भएका थिए । संसद विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न आफु बाध्य भएर विपक्षि दलको गठवन्दनलाई साथ दिएको उनले जनाए ।
मुख्यमन्त्री गुरुङले गणितिय हिसावमा आफ्नो पक्षमा पार्न मनाङेलाई सामाजिक विकास मन्त्रालयलाई फुटाएर मन्त्री बनाएका थिए । पहिलोपटक १० दिन मन्त्री भएका मनाङले पछिल्लो पटक वैशाख २९ गते पुन मन्त्रीमा नियुक्त भएका थिए । कुनै आन्तरिक चलखेल नभए नेपाली कांग्रेस संसदीयदलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने भएको माओबादी केन्द्रका सांसद रामजी प्रसाद बराल जीवनले बताए ।
विश्वासको मत परिणाम सार्वजनिक भएसंगै मुख्यमन्त्री गुरुङ निरास मुद्रामा सदनबाट बाहिरिदै अब कानुनी प्रकृयाबाट सरकार गठन हुने प्रतिकृया दिएकाछन् । प्रस्तावित मुख्यमन्त्री पोखरेलले अब आफुहरुले गण्डकी प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनको लागि बहुमत ३१ जनाको प्रदेश सभा सदस्य (सांसद) को हस्ताक्षर लियर जाने भएको बताए । आफुहरुको नेतृत्वमा अब भने नयाँ सरकार बन्ने लगभग पक्का भएको उनले दाबी गरे ।
असार १ गतेभित्र बजेट ल्याउने पर्ने सरकारलाई चुनौती रहेकोले त्यसलाई दिन रात खटेर भए पनि समयमै बजेट ल्याउने गरी आफुहरुको नेतृत्वमा सरकार गठन भएर्कै दिनबाट सुरु गर्ने नेता पोखरेलले बताए । पार्टीले सक्ता पक्षलाई भोट नहाल्ने आदेश दिए पनि आफुले सक्ता र प्रतिपक्ष कसैलाई पनि भोट नहालेको जनमोर्चाका सांसद थापाले बताए ।
सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक जेठ २८ गते ११ः०० बजेको लागि आव्हान गरेका छन् । विहिबार संसदमा सुरक्षा व्यबस्था निकै कडा पारिएको थियो । सदनमा विभिन्न पार्टीका संसदीय दलका नेताहरुले आफ्नो भनाई राखेका थिए भने सत्ता पक्षले अहिलको सरकार टिकाउन मत दिन आग्रह गरेका थिए भने प्रतिपक्ष दलका नेताहरुले अहिलेको प्रतिगमनकारी सरकारलाई विश्वासको मत दिन नसक्ने जनाएका थिए ।
अझै एकात्मक संरचना छः मुख्यमन्त्री गुरुङ
विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले अहिले पनि आफुले संघीय लोकतान्तित्र गणतन्त्रलाई मजबुद पार्न प्रदेश र स्थानिय सरकारलाई बढी अधिकार प्रत्यायोजन गर्ने बिषयमा खरु रुपमा उठाउदै आएको बताए । केन्द्र सरकारको स्वार्थको लागि प्रदेश र स्थानीय नेताहरु वलिको वोका हुनु परेको गुनासो गरेका उनले मैना चरीका रुपमा केन्द्र सरकारले अन्य सरकारलाई खेलाउन खोजेको दाबी गरे । उनले भने “काठमाण्डौंको भाकल पुरा गर्न तल्लो लेवलका नेता कार्यकर्तालाई वलि वनाउने काम भएको छ ।” प्रदेशमा नमुना केही काम गरेको दाबी गर्दै मुख्यमन्त्री गुरुङले ९८ प्रतिशत जनताको घरमा बिद्युत सेवा पुगेको जनाए । अझै देशमा एकात्मक संरचना भएको उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस्