Pokharapatra National Daily

गण्डकी प्रदेशसभा सदस्य थापालाई पुनःबहाली गर्न आदेश

जनमतको कदर भयोः थापा

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपाल सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यन गर्न अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशसँगै थापा पुनःबहाली भएका छन् । “निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजको गण्डकी प्रदेशसभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरू त्था सोसम्बन्धी पत्रचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु नगराउनु” आदेशमा भनिएको छ, “निज निवेदकलाई प्रदेशसभा बैठकमा नियमितरूपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु ।”
सांसद थापाले आफूलाई कानूनविपरीत कारवाही गरेको हुँदा पुनः बहाली गर्न माग गर्दै यही जेठ २३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट ‘सुविधा र सन्तुलनमा क्षति पर्ने’ देखिएकाले यो अन्तरिम आदेश जारी भएको हो ।
पार्टीको निर्णयविपरीत नेकपा (एमाले) का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको भन्दै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो । थापाले गुरुङको विकल्पमा अर्काे सरकार बनाउने विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थापा एमाले र जनमोर्चाको तालमेलका आधारमा बाग्लुङबाट विजयी भएका थिए ।
यसै गरी कृष्ण थापाले आफ्नो पद पुनः बहाली गराउने सर्वाेच्च अदालतको अन्तरिम आदेशले जनताको भावनाको कदर भएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (ख) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा आइतबार अन्तरिम आदेश भएको हो । पद खारेज नगर्न अन्तरिम आदेश आएपछि रासससँग कुरा गर्दै थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । “विपक्षी नेपाली काँग्रेसलाई सरकार बनाउन मेरै पार्टीले कारबाही ग¥यो, जनताको भावनाविपरित जादिनँ भन्ने अडान कायमै थियो” सांसद थापाले भने, “अदालतले पुनः बहाली गरेको छ, मैले आफ्नो अठान फेरि पनि छोड्दिन, अब पनि काँग्रेसको गठबन्धनलाई सहयोग गर्दिनँ ।” थापाले आफ्नो क्षेत्रमा विकास निर्माणले गति लिएकोमा सांसद पद जाँदा जनातामा निराशा छाएको भन्दै विकासका बाँकी काम पुरा हुनेमा आशावादी भएको बताए । उनले पार्टीले समेत कारबाही फुकुवा गर्ने आशा व्यक्त गरे । “जनमोर्चा अझै हिमालको डाँफेको जस्तै छाती भएको पार्टी हो भन्ने लाग्छ, फिस्टे चराको जस्तो छाती हुनु हुदैन” थापाले भने । उनले कम्युनिष्टहरू मिल्नुको विकल्प नभएको स्पष्ट गरे ।

प्रतिकृया दिनुहोस्