Pokharapatra National Daily

ट्याक्सी व्यवसायीदेखि होटल व्यवसायीले प्रदेश सरकारबाट व्याज मिनाहको राहत प्याकेज पाउने

गण्डकी प्रदेश सरकारले कोरानाबाट प्रभावित भएका साना तथा मझौला व्यवसायीलाई अब छिट्टै राहत स्वरुप व्याज मिनाहको कार्यक्रम ल्याउने तयारी गरेको छ । कोरोनाबाट प्रभावित व्यवसायीहरुलाई निश्चित ऋणको व्याज मिनाह गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याउने अन्तिम तयारीमा रहेको गण्डकी प्रदेशका निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले बताए ।
१ अर्बको जिवन रक्षा कोष स्थापना गरेकोले उक्त कोषबाट प्रदेश सरकारले स—साना व्यवसायी देखि मझौला व्यवसायलाई व्याज मिनाहमा ३ बर्षसम्म लगानी गर्ने गरी कार्यविधि ल्याउने अन्तिम चरणमा रहेको उपाध्यक्ष डा. शर्माले जनाए । उनले भने “ यस कार्यक्रमबाट ट्याक्सी व्यवसायी देखि उत्पादन हुदै सेवा क्षेत्र पर्यटन व्यवसायीहरुले समेत लाभान्वित हुन सक्छन्। ” एक अर्बको उक्त कोषले तत्काल करिब ८ अर्बको कर्जा चलायमान गराउन सकिने भएको उपाध्यक्ष डा. शर्माले दाबी गरे । निश्चित ऋणको व्यज प्रदेश सरकारले तिर्ने भए पनि उनीहरुले लिएको ऋणको किस्ता ६/६ महिनामा तिर्नुपर्ने उनले जनाए ।
ट्याक्सी व्यवसायीहरुले ३० देखि ५० हजारसम्म ऋण माग गरेको, बस व्यवसायीहरुले ८ देखि १० लाख, विभिन्न कम्पनी तथा व्यवसायीहरुले भने १५÷२० लाख माग गरेको उपाध्यक्ष डा. शर्माले जनाए । कोरोनाबाट प्रदेशमा परेको प्रभावलाई पुनः पुनरुस्थान गर्न अब सवै उद्योग धन्दा तथा व्यवसाय संचालन गर्नु पर्ने उनले राय व्यक्त गरे । विगत ८÷९ महिना देखि बन्द भएको उद्योग धन्दा तथा केही व्यवसायलाई अब पनि कोरोनाको नाममा बन्द भयो भने यस क्षेत्रको अर्थतन्त्र नराम्रोसंग प्रभावित हुने हुदा अब खोल्नुको विकल्प नभएको उनले जनाए । प्रदेश सरकारले ठुला उद्योग तथा व्यवसायीहरुलाई भन्दा साना तथा मझौला व्यवसायी तर्फ केन्द्रित भएको हो ।
उक्त कोषको रकम संचालनको लागि कार्यविधि समेत बनेकोले अब त्यसलाई छिट्टै कान्वयन हुने भएको उपाध्यक्ष डा.शर्माले जनाए । डा. शर्माले बैंक तथा विक्तिय क्षेत्रमा हाल करिब ६० अर्ब तरलता रहेको जनाए ।

प्रतिकृया दिनुहोस्