Pokharapatra National Daily

स्याङ्जामा धान उत्पादन वृद्धि

स्याङ्जामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा चालु आव २०७७÷७८ मा एक हजार ७७४ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए । उनका अनुसार गत वर्ष १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष १८ हजार १३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १०६ मेट्रिक टन धान उत्पादन भएको हो । “धान उत्पादन वृद्धि हुनुको मुख्य कारण गत वर्षको तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल बढ्नु हो”, उनले भने, “क्षेत्रफल बढ्नुको अलावा आधुनिक यन्त्र उपकरणको प्रयोग, उन्नत बीउको प्रयोग, मौसम अनुकूल हुनु र बन्दाबन्दीका कारण जनशक्ति पर्याप्त हुनुलगायतका कारणले उत्पादनमा वृद्धि भएको हो ।”
विगतका वर्षमा धान रोप्न शुरु गर्ने समय र अन्त्य गर्ने समयको अन्तर धेरै हुने गरेकामा यस वर्ष समयमै रोपाइँ शुरु भई समयमै सकिएकाले पनि उत्पादनमा वृद्धि भएको जनाइएको छ । जिल्लाका चापाकोट टार, जिमुहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेवाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र हुन् ।
यहाँ विशेषगरी रामधान, सावित्री, खुमल–४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ लगायतका उन्नत धान र स्थानीय जातहरूमा पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायतका धान लगाउने गरिएको छ । “उन्नत जातको धानखेतीसँगै स्थानीय जातका धान लोप हुन नदिनका लागि रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम सञ्चालन गरेका छौँ”, प्रमुख अधिकारीले भने ।

प्रतिकृया दिनुहोस्