Pokharapatra National Daily

इतिहास रच्ने दाउमा संकटा र क्यामरुनको अफ्रिकन रुट एशोसियसन

१९ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि पाहुना टोली अफ्रिकन रुट एशोसियसन, डाउला क्यामरुनसंग नेपालको संकटा क्लवले प्रतिस्पर्धा गर्ने भएको छ ।
पोखरा रंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा पाहुना टोली अफ्रिकन रुट एशोसियसनले नेपालको विभागिय टोली नेपाल पुलिस क्लवलाई २—० को गोल अन्तरले पराजित गर्दै फाइनलाम यात्रा बनाएको हो ।
अफ्रिकन रुट एशोसियसनको जितमा बसेक र मौसाले एक एक गोलको योगदान दिए । आहा राराको इतिहासमा छुट्टै पहिचान बनाएको नेपाल पुलिस सम्हालिन नपाउदै अफ्रिकन रुटका बसेकले खेलको तेश्रो मिनेटमै उत्कृष्ट गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । उनले मौसाको पासमा डिफेण्डर सहित गोलरक्षक लाई समेत छल्दै उत्कृष्ट गोल गरेका हुन्। मौसाले खेलको अन्तिम इन्जुरी समयमा एक गोल गरी आफ्नो टिमलाई २—० को जित सुनिश्चित गरेका हुन्। पहिलो हालमा १—० ले पछि परेको पुलिसले दोश्रो हापमा केही गोल गर्ने प्रयास गरे पनि अग्लो कदका खेलाडीहरु सहभागि अफ्रिकन रुट सामु गोल गर्न फलामको चिउरा चपायसरी कठिन स्थिती सृजना भयो ।
नेपाली फुटवलका स्टार खेलाडी जुमानु राईलाई पुलिसका प्रशिक्षक अनन्त थापाले सप्टिच्यूट खेलाडीको रुपमा मैदानमा उतारे पनि उनले गरेको केही प्रयास असफल भयो । आहा राराको सर्वाधिक सफलता हासिल गरेको पुलिस क्याराभान गोल्डकप सहित ६ वटा उपाधि रक्षा गरेको छ भने १० पटक फाइनलमा प्रबेश गरेको टिम हो ।
खेलमा म्यान अफ दी म्याच घोषित भएका मौसाले ट्रफीको साथमा नगद ५ हजार पुरस्कार प्राप्त गरे । उनलाई राखेप सदस्य राजेश कुमार गुरुङ र खेलकुद परिषद, गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङले उक्त उपहार वितरण गरेका थिए । अफ्रिकन रुटका प्रशिक्षक शर्जी वोरीसले आफ्नो टिम स्प्रिटका कारण पुलिस बिरुद्धको खेलमा जित हासिल गरेको बताए । उनले संकटनासंग शनिबार हुने फाइनल खेलमा धेरै मेहनत गरी इतिहास रच्ने गरी खेल खेल्ने बताए । पुलिसका प्रशिक्षक अनन्त थापाले आफुहरु सम्हालिन पाउदै तेश्रो मिनेटमै गोल खाएर विदेशी खेलाडीहरुको दबाबमा परेको बताए । नेपाली सामु अग्लो कदका विदेशी खेलाडीहरु हुनु उनीहरुलाई धेरै सम्भावना भएकोले त्यसको फाइदा उठाउन सफल भएको उनको भनाई थियो ।
संकटा क्लवले बुधबारको खेलमा सशस्त्र प्रहरी वल एपिएफ क्लवलाई पराजित गर्दै फाइनलमा पहिलो पटक यात्रा बनाएको हो । आहा राराको इतिहासमा संकटा र अफ्रिकन रुटको टिम पहिलो पटक फाइनलमा पुगेका हुन्। यी दुई टिम मध्य कुनै एक टिम विजेता हुँदा आहा रारा गोल्ड कपमा इतिहास रच्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १० लाख १ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उपबिजेता हुने टोलीले ट्रफीको साथमा ५ लाख १ हजार रुपैया साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्