Pokharapatra National Daily

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबाट बाराही माविको भवन शिलान्यास

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही माध्यमिक विद्यालयमा सात कोठाको पक्की भवनको सोमबार शिलान्यास गरेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण(साउदी फन्ड)को रु दुई करोड २३ लाखमा लागतमा सात कोठाको साढे तीन तलाको भवन आगामी असार मसान्तसम्म निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
शिलान्यास कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले विकसित मुलुकको जनशक्तिसँग प्रतिष्पर्धा गरी श्रेष्ठता हासिल गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको बताए । सामुदायिक विद्यालयमा कक्षाकोठा, खेल मैदान, ल्याब लगायतका पूर्वाधारसँगै पठनपाठन समेत गुणस्तरीय हुनुपर्ने आवश्यकता उनले औल्याए । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले सामुदायिक विद्यालयहरुमा पछिल्लो समयमा भौतिक पूर्वाधार लगायतमा लगानी वृद्धि भएपनि त्यसबाट प्रतिफल भने न्यूनमात्र प्राप्त भएको बताए । पोखरा महानगरपालिका प्रमुख मानवहादुर जिसीले महानगरका ७० प्रतिशत विद्यार्थी निजी र ३० प्रतिशतमात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको जानकारी दिँदै सामुदायिक विद्यालयका शिक्षकको तलव भत्तामा वार्षिक रु एक अर्व ३० करोड खर्च हुने जानकारी दिए । उनले भौतिक पूर्वाधार निर्माण गर्दा कम्तिमा ५० वर्षलाई सोचेर निर्माण गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले नयाँ बन्ने भवन निर्धारित समयभित्रमा गुणस्तरीय सम्पन्न गर्नका लागि सरोकारभएकाहरुबाट निरन्तर निगरानी आवश्यक रहेको बताए । महानगर प्रमुख जिसीले आजनै प्राधिकरणको रु ७८ लाख लगानीमा निर्माण गरिएको चार कोठाको पक्की विद्यालय भवनको उद्घाटन गरे । यसैगरी सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आठ लाख बजेटबाट विद्यालयमामा बाल उद्यान पनि निर्माण गरिएको छ । विद्यालयमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गत वर्षको रु पाँच लाख ५० हजार लागतमा युरो गार्ड सहित खानेपानीको प्रदेशसभा सदस्य पहारीले उद्घाटन गर्नुभयो भने समन्वय प्रमुख क्षेत्रीले बाल उद्यानको उद्घाटन गरे । वडाध्यक्ष धनबहादुर नेपालीले विद्यालयको विकासमा वडाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।
विसं २०१४ साल मङ्सिर १५ गते स्थापना भएको विद्यालयमा प्राथमिक बाल विकास केन्द्रदेखी कक्षा १२ सम्म गरी ८५० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक शिवप्रसाद भण्डारीले जानकारी दिए । नयाँ भवन निर्माणका लागि निर्माणका लागि बानियाँ कन्स्ट्रक्सन हेटौँडासँग ठेक्का सम्झौता गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रामप्रसाद पोखरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्