कांग्रेसभित्र गुट होइन, सबैलाई समेटेर अघि बढ्नुपर्छः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको तिक्तता बिर्सेर सबैलाई समेट्दै संस्थागत रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
शक्ति र सत्ता प्राप्तिमा मात्र केन्द्रित हुनु तथा सुशासन दिन नसक्नु कांग्रेसका कमजोरी भएको उल्लेख गर्दै उहाँले कमजोरी स्वीकार गरेर सुधारको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति अन्तर्गतको बीपी स्मृति पुस्तकालयले मंगलबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीभित्र गुटबन्दी अन्त्य गरी एकता, सहकार्य र जिम्मेवारी बाँडफाँटको संस्कार विकास गर्नुपर्ने बताउनुभएको हो । “जित्नेले पाँच वर्षका लागि नेतृत्व लिन्छ भने तिक्तता बिर्सेर सबैलाई समेट्नुपर्छ । पार्टीभित्र सबैले स्पेस पाउनुपर्छ । आफ्नै साथीसँग बसेर संवाद गर्न नसक्ने प्रवृत्ति राम्रो होइन,” उहाँले भन्नुभयो । थापाले कांग्रेस आफ्ना कमजोरीबाट भाग्ने नभई तिनलाई स्वीकार गर्दै सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो ।
शासन व्यवस्थामा सुधार, सुशासनको प्रत्याभूति र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु पार्टीको प्राथमिकता हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले कांग्रेसमा आबद्ध चार पुस्तालाई समेट्दै नयाँ पुस्ता, महिला तथा सबै जातजाति र समुदायलाई अवसर दिनुपर्ने बताउनुभयो । पार्टीभित्रको प्रतिस्पर्धापछि पराजित भएका नेता तथा कार्यकर्तालाई पनि उचित जिम्मेवारी दिएर अघि बढाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । १५औँ महाधिवेशनपछि पार्टीबाट टाढिएका तथा असन्तुष्ट बनेका नेता–कार्यकर्तालाई पुनः जोड्न संवाद अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै थापाले आगामी मंसिरमा एक महिनासम्म जनतासँग जोडिने अभियान चलाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभययो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि कांग्रेसभित्र एकता र पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीका नीति, कार्यक्रम र उपलब्धि जनतासमक्ष प्रभावकारी रूपमा पु¥याउन नसक्नु कमजोरी भएको उल्लेख गर्दै नयाँ अनुहारलाई अवसर दिनुपर्ने धारणा राख्नुभयो । सभापति थापा र मुख्यमन्त्री पाण्डेले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनका चुनौती सामना गर्न संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमा जोड दिनुभएको थियो ।
सभापति थापाले नेपाली कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्याउनुभएका गण्डकी प्रदेशका ११ जिल्लाका एक÷एक जनालाई सम्मान गर्नुभएको थियो ।
सम्मातिन हुनेहरुमा नवलपुरका सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी, मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिकराम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट हुनुहुन्छ । उहाँहरुलाई जनही रु २५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।










