Pokharapatra National Daily

पोखराको पार्किङ व्यवस्थापनमा पोउवा संघको चासो

पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनको लागि उद्योगी÷व्यवसायीबाट सुझाव संकलन सुरु गरेको छ । संघको फुटपाथ तथा बजार व्यवस्थापन उपसमितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानको उपाय खोज्ने उदेश्यले सुझाव संकलन थालिएको बताए ।
पोखरा उद्योग वाणिज्य संघले यसअघि पोखराको फुटपाथमा हुने अनधिकृत व्यापार हटाउन खेलेको भूमिकाको स्मरणगर्दै अध्यक्ष कोइरालाले अहिले देखिएको समस्या समाधानको लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्न संघ तयार भएको बताए । उनले व्यवसायीले दिएका सुझावहरुमो आधारमा संघले आफ्नो धारणा बनाउने र समस्या सल्टाउन महानगरलाई आग्रह गरिने जानकारी दिए ।
कार्यक्रममाबोल्दै संघका उपाध्यक्ष तथा फुटपाथ तथा बजार व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेलले अव्यवस्थित पार्किङका कारण पोखराले आफ्नो सुन्दरता पनि गुमाएको र व्यवसायमा पनि ठूलो असर पु¥याएको चर्चा गर्दै व्यवस्थित पार्किङको लागि नै कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा सुझाव दिने क्रममा व्यवसायी लक्ष्मण श्रेष्ठले पार्किङ शुल्क लिने गरी कार्डको व्यवस्था गर्न तथा सडकको एकातिर गाडी र अर्कोतिर मोटरसाइकल पार्किङ गर्दा राम्रो हुने बताए । व्यवसायी शेषकान्त ढकालले दोकान अगाडि सामान झार्दा र लैजाँदा पनि पार्किङ शुल्क माग्ने गरिएको बताउँदै स्थायी पार्किङ स्थल निर्माण हुनुपर्नेमा जोड दिए । व्यवसायी चन्द्रेश्वर बस्ताकोटीले मोटरसाइकलमा डुलेर पार्किङ शुल्क उठाउने गरिएको बताउँदै एक–एक घण्टामा पार्किङ शुल्क लिने परिपाटी गलत भएको बताए ।
संघका पूर्व उपमहासचिव रामजी बास्तोलाले पार्किङ शुल्क व्यवहारिक हुनुपर्नेमा जोड दिए । नरेन्द्र आचार्यले नगरबसहरुले जता पायो त्यतै मान्छे झार्ने र ओराल्ने गर्दा समस्या परेको बताए । रामकृष्ण ढुंगानाले फिरन्ते व्यापारीहरुले घरघर गएर सामान बेच्दा कर तिरेर व्यवसाय गर्नेहरु मर्कामा परेको बताए । पोखरा उद्योग वाणिज्य संघकाकार्य समिति सदस्य बालकृष्ण कोइरालाले ट्राफिक नियम उलंघन हुँदा मनोमानी रुपले जरिबाना तिराइने गरेको गुनासो गरे । संघका पूर्व उपाध्यक्ष मीनराज काफ्लेले महानगरले जग्गा व्यवस्थापन गर्दै सशुल्क पार्किङ स्थल बनाउनुपर्नेमा जोड दिए । संघका कार्यसमिति सदस्य हरिराज पन्तले मालबाहक सानागाडीहरुलाई विभिन्न बहानामा ट्राफिक प्रहरीले दुःख दिने गरेको बताए । व्यवसायी बासु त्रिपाठीले भावनामा बगेर पोके व्यापारीलाई संरक्षण नगर्न व्यवसायीहरुसँग आग्रह गरे ।
अर्का व्यवसायी विष्णुप्रसाद तिमिल्सिनाले सडकमा कर उठाउनु नाजायज भएको बताए । यस्तै कार्यक्रममा बोल्दै व्यवसायी किरण ढकालले व्यवसायीकै संरक्षणका कारण फुटपाथमा व्यापार बढेको जिकिर गरे । व्यवसायी देवराज आचार्यले पोखराको ट्राफिक व्यवस्थापनमा महानगरले उदाशिनता देखाएको आरोप लगाए । संघका पूर्वउपाध्यक्ष माइकल कर्माचार्यले पार्किङ व्यवस्थापनको लागि महानगरले सार्वजनिक निजी साझेदारीको अवधारणामा टेकेर निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागिहरुलाई धन्यवाद दिँदै संघका उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुका सुझावलाई संघले गम्भीरतापूर्वक लिएको बताए । सहभागिहरुले पार्किङको लागि बनाइएको अण्डर ग्राउण्डहरु सोही प्रयोजनमा लगाउन, आकासे पुलहरु बनाउन, ट्राफिक अवस्थाबारे जानकारी दिनको लागिएप्सको निर्माण गर्न र व्यवस्थित पार्किङ स्थल निर्माण गर्न बढी जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्