‘भानुभक्तको योगदान पाठ्यक्रममा मात्र होइन, भावी पुस्तासम्म पुर्याउनुपर्छ’—प्रदेश प्रमुख भट्ट

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती पोखरामा प्रभातफेरी, सम्मान तथा साहित्यिक विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
भानु वाङ्मय प्रतिष्ठानको आयोजना तथा भानुमार्ग टोल विकास संस्था र भानुमार्ग (क) आमा समूहको सहआयोजनामा सम्पन्न कार्यक्रममा मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी पोखरा–११, फूलबारीस्थित भानुभक्तको सालिक परिसरमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य र राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले भानुभक्तले नेपाली भाषालाई साझा भाषिक सूत्रका रूपमा स्थापित गर्दै नेपालीपनको भावना बलियो बनाएको उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख भट्टले भानुभक्तका कृति र विचारलाई विद्यालयको पाठ्यक्रममा मात्र सीमित नराखी आधुनिक प्रविधिको उपयोग गर्दै डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श तथा सिर्जनात्मक अभ्यासमार्फत भावी पुस्तासम्म पु¥याउनु आजको आवश्यकता भएको धारणा राख्नुभयो ।
गण्डकी प्रदेश साहित्यिक दृष्टिले उर्वर भूमि भएकाले यस्ता कार्यक्रमले साहित्य संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने उहाँको भनाइ थियो । भानुभक्तको ‘घाँसी’ प्रसङ्गबाट प्रेरित भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले समाजका लागि केही योगदान गर्नुपर्ने सन्देशलाई आत्मसात् गर्दै आफूले प्रत्येक वर्ष आफ्नो बचतको २५ प्रतिशत सामाजिक कार्यमा सहयोग गर्ने गरेको जानकारी दिनुभयो । सोही क्रममा उहाँले भानु वाङ्मय प्रतिष्ठानलाई २० हजार १०५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभयो । कार्यक्रममा नेपाली विषयका विद्यार्थी जमुना कुमारी रिमाललाई १० हजार रुपैयाँ नगदसहित ‘भानु वाङ्मय शिक्षा पुरस्कार’ प्रदान गरिएको थियो । त्यसैगरी नेपाली विषय अध्यापन गराउने कास्की जिल्लाका माध्यमिक तहका शिक्षक टेकनाथ पोखरेल (पीडित) लाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।
प्रतिष्ठानका सचिव अम्बिकाप्रसाद भट्टराईका अनुसार पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले स्थापना गरेको एक लाख २५ हजार रुपैयाँको अक्षयकोषबाट पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयमा स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई तथा पूर्व जनप्रतिनिधि निर्मल कर्माचार्यले स्थापना गरेको एक लाख एक हजार रुपैयाँको अक्षयकोषबाट प्रत्येक वर्ष ज्येष्ठ शिक्षकलाई सम्मान गरिँदै आएको छ ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सुर्य खड्का विखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह (बाबा), पूर्व जनप्रतिनिधि निर्मल कर्माचार्य, अग्रज साहित्यकार पद्मराज ढकाललगायत वक्ताहरूले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदान, नेपाली भाषाको विकासमा उहाँको भूमिका तथा उहाँका कृतिको समसामयिक महत्वबारे चर्चा गर्नुभयो । भानु वाङ्मय प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हाजिफ अलिमियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यप्रेमी, शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।











