आज : २०२६-०७-१३, सोमबार

करुवा गाउँको पर्यटन प्रवद्र्धनमा हाइकर्स क्लब नेपालको हाईकिङ

हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको हाइकर्स क्लब नेपालले यसपटकहाइकिङ भाग ७२ कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सा तातोपानीदेखि करुवा सादलसम्म हाइकिङ सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष कृष्ण रानाभाटको नेतृत्व तथा संयोजक पितम सेनको समन्वयमा सम्पन्न कार्यक्रममा ५५ जना सहभागी भएका थिए । सहभागीहरू बिहान पोखराको न्युरोडमा भेला भई दुईवटा नगरबस मार्फत गन्तव्यतर्फ प्रस्थान गरेका थिए । हाइकिङमा विद्यार्थी, गृहिणी, विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरू तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू गरी १० वर्षदेखि ६७ वर्षसम्मका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्नै खर्चमा कार्यक्रममा सहभागिता जनाउँदै सामूहिक यात्रामार्फत स्वास्थ्य, सामाजिक एकता र प्राकृतिक पर्यटन प्रवद्र्धनको सन्देश दिएका छन् । सेती गण्डकी नदी आसपास अवस्थित करुवा गाउँ प्राकृतिक सौन्दर्य, हरियाली, शान्त वातावरण र ग्रामीण जीवनशैलीले भरिपूर्ण गन्तव्यका रूपमा विकास हुने प्रचुर सम्भावना बोकेको क्षेत्र रहेको पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक राजेन्द्र रेग्मीले बताए । यस्ता पदयात्राले ओझेलमा परेका गाउँहरूको पहिचान स्थापित गर्न, आन्तरिक पर्यटन बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको क्लबकी सल्लाहकार जुना गुरुङले बताइन । कार्यक्रमको क्रममा करुणा आमा समूहले सहभागीहरूको भव्य स्वागत गर्नुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी स्थानीय कला, संस्कृति र आतिथ्यलाई जीवन्त बनाएको थियो । समूहकी प्रभा पुनले हाइकर्स क्लब नेपालप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम मार्फत गाउँमा पाहुनाहरूलाई स्वागत गर्न आतुर रहेको बताइन । कार्यक्रममा सहभागी नवोदित लेखक कृष्ण क्षेत्री ‘उदय’ले आफ्ना दुई कृतिहरु जिन्दगीका अदृश्य किरण र जीवन सुदर्शन‘ समुहलाई प्रदान गर्दै ग्रामीण महिलाहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक महिला सशक्तीकरण तालिममा प्रशिक्षक निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन । उनको घोषणालाई स्थानीय समुदायले सकारात्मक पहलका रूपमा लिएको छ । स्थानीय समाजसेवी देव पुनले कार्यक्रमको सहजीकरण गर्दै गाउँको पर्यटन विकास, स्थानीय उत्पादनको प्रवद्र्धन तथा समुदायसँग बाह्य समाजको सम्बन्ध विस्तार गर्न यस्ता गतिविधि अत्यन्त प्रभावकारी हुने बताए । हाइकर्स क्लब नेपालले केवल पदयात्रामा सीमित नरही गाउँ–समाज, संस्कृति, पर्यटन, स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने अभियान सञ्चालन गर्दै आएको अध्यक्ष कृष्ण रानाभाटले बताए। उनका अनुसार प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुने हाइकिङ कार्यक्रमले नयाँ पदमार्गको खोज, स्थानीय समुदायसँग सहकार्य र प्रकृतिप्रतिको जिम्मेवारीबोधलाई थप मजबुत बनाउँदै आएको छ।
करुवा गाउँसम्मको यसपटकको हाइकिङले प्राकृतिक पर्यटन, स्थानीय संस्कृति, सामुदायिक आतिथ्य र सामाजिक सहकार्यलाई एकै सूत्रमा बाँध्दै ग्रामीण पर्यटन प्रवद्र्धनको प्रभावकारी नमुना प्रस्तुत गरेको सहभागीहरूको निष्कर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू