आज : २०२६-०७-११, शनिबार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ । संघको ३६औँ महाधिवेशन आगामी भदौ २० र २१ गते हुने निर्णयसँगै वर्तमान महासचिव शोभा गौतमले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको हो ।
संघको बिहीबार बसेको ३०औँ कार्यसमिति बैठकले ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभा भदौ २० र २१ गते गर्ने निर्णय गरेलगत्तै गौतमले उद्योगी–व्यवसायी समुदायलाई सम्बोधन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेदवारीसँगै उहाँले “विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो भन्ने नारासहित व्यवसायीहरूको साथ, विश्वास र सहयोगको अपेक्षा गर्नुभएको छ । गौतमले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिगत महत्वाकांक्षाका रूपमा नभई अनुभव, समावेशी नेतृत्व र संस्थागत रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले पदभन्दा काम ठूलो हुन्छ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगतका जिम्मेवारीमा इमान्दारिता, निष्ठा र समर्पणका साथ काम गरेको उल्लेख गर्नुभएको छ ।
नेतृत्वको वास्तविक परिचय पदले होइन, कामले दिन्छ, उहाँले अपिलमा उल्लेख गर्दै अध्यक्षको भूमिकालाई अवसरभन्दा पनि सेवा गर्ने माध्यमका रूपमा लिएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघको इतिहासमा हालसम्म कुनै पनि महिला अध्यक्ष निर्वाचित नभएको स्मरण गराउँदै गौतमले आफ्नो उम्मेदवारीलाई नयाँ इतिहास रच्ने अवसरका रूपमा लिन उद्योगी–व्यवसायीसँग आग्रह गर्नुभएको छ । उहाँले आफूलाई उद्योगी–व्यवसायी समुदायकै छोरी–चेली का रूपमा प्रस्तुत गर्दै संस्थाप्रतिको विश्वासलाई अझ ठूलो जिम्मेवारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विगतमा संघका विभिन्न उपसमितिमा सक्रिय भूमिका निर्वाह गर्दै कार्यसमिति सदस्य, उपमहासचिव हुँदै पहिलो महिला महासचिव बन्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै उहाँले त्यो यात्रा व्यवसायी समुदायले दिएको विश्वास र साथकै परिणाम भएको बताउनुभएको छ ।
गौतमले आफ्नो नेतृत्व पारदर्शिता, सुशासन, उत्तरदायित्व र सबैलाई समेट्ने कार्यशैलीमा आधारित हुने स्पष्ट पार्दै पोखरा उद्योग वाणिज्य संघलाई अझ सशक्त, समावेशी, व्यवसायीमैत्री र भविष्यमुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आगामी केही दिनभित्र आफ्नो नेतृत्व टोली, साझा दृष्टिकोण, प्राथमिकता र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि दिनुभएको छ । यसअघि नै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने संकेत दिँदै आउनुभएकी गौतमले अहिले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेसँगै पोखरा उद्योग वाणिज्य संघको नेतृत्व चयन प्रक्रिया थप रोचक बनेको छ । यदि उहाँ निर्वाचित हुनुभयो भने संघको सात दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने इतिहास रच्नुहुनेछ ।
नयाँ नेतृत्व चयन हुँदै
पोखरा उद्योग वाणिज्य सङ्घको विधानअनुसार आगामी महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका दुई उपाध्यक्ष, कोषाध्यक्ष, उपमहासचिव तथा १५ जना कार्यसमिति सदस्यसहित नयाँ नेतृत्व चयन गर्नेछ । सदस्यमध्ये एक जना औद्योगिक, चार जना वस्तुगत र १० जना खुलातर्फबाट निर्वाचित हुने व्यवस्था रहेको छ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य रहने प्रावधान पनि विधानमा छ । महाधिवेशनको मिति घोषणा भएसँगै अब पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू