
सिमलचौर, पोखरामा रहेको लिटिल स्टेप माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन टोली प्रवेशसँगै विद्यालयले विकासको नयाँ अध्याय सुरु गरेको छ ।
वि.सं. २०३९ सालदेखि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको यस विद्यालयमा अन्तर्राष्ट्रिय अनुभव, आधुनिक सोच र नवप्रवर्तनलाई आत्मसात गर्ने उद्देश्यका साथ नयाँ नेतृत्व टोली भित्रिएको हो । नयाँ व्यवस्थापन टोलीमा शिक्षाविद् पदम बास्तोकोटी, गण्डकी विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा. कैलाश तिमिल्सिना, राजनीतिशास्त्र तथा भूगोलशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका, विज्ञान संकायबाट बीएस्सी उत्तीर्ण तथा विभिन्न सामाजिक अभियानमा अनुभव हासिल गरेका प्राविधिक व्यक्तित्व मिलन पौडेल, युवा उद्यमशील व्यक्तित्व विवेक पौडेल तथा हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीका संस्थापक डा. हरि कार्की लगायत विदेशमा अध्ययन गरी फर्किएका युवा शिक्षा व्यवसायीहरू सहभागी छन् । विद्यालयको स्थापना कालदेखि नेतृत्व सम्हाल्दै आएका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङ र प्रिन्सिपल पम्फा गुरुङले नयाँ व्यवस्थापन टोलीलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । जिम्मेवारी हस्तान्तरणका क्रममा संस्थापक अध्यक्ष गुरुङ र प्रिन्सिपल गुरुङले नयाँ टोलीप्रति विश्वास व्यक्त गर्दै भने, “विद्यालयलाई अझ उचाइमा पु¥याउने उत्साही र दूरदर्शी टोली आएकोमा हामी गर्व गर्छौं । आगामी दिनमा पनि हाम्रो अनुभव र मार्गनिर्देशन विद्यालयलाई निरन्तर उपलब्ध हुनेछ ।”विद्यालयका अनुसार अब पुरानो व्यवस्थापन टोली एडभाइजरको भूमिकामा रहनेछ । उनीहरूको अनुभव र संस्थागत स्मृतिले नयाँ टोलीलाई मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।
नयाँ व्यवस्थापनले शिक्षण पद्धतिमा व्यापक सुधार ल्याउने योजना अघि सारेको छ । विद्यालयले अबको शिक्षालाई ‘परीक्षा केन्द्रित’ भन्दा पनि ‘जीवन केन्द्रित’ बनाउने लक्ष्य राखेको छ । आधुनिक अवधारणालाई प्राथमिकता दिँदै कम्प्युटरमा आधारित शिक्षण, डिजिटल कक्षा, इन्टरप्रेन्योरसिप र खेलकुदलाई पाठ्यक्रमसँग एकीकृत गर्ने तयारी भइरहेको विद्यालय प्रशासनले जनाएको छ । यस पहलले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक सीप, नेतृत्व क्षमता र आत्मनिर्भरता विकासतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ । पोखरामा उत्कृष्ट पूर्वाधार भएको विद्यालयका रूपमा परिचित लिटिल स्टेपले हालसम्म १०० भन्दा बढी डाक्टर, इन्जिनियर, आइटी अफिसर तथा राजनीतिज्ञ उत्पादन गरिसकेको छ । फराकिला कक्षाकोठा, आधुनिक प्रयोगशाला, व्यवस्थित पुस्तकालय तथा खेलमैदानजस्ता सुविधासहित यस विद्यालयले चार दशकभन्दा लामो इतिहासमा हजारौँ अनुशासित र जिम्मेवार नागरिक उत्पादन गरेको छ ।
इतिहासको मजबुत आधार, अनुभवी मार्गदर्शन र आधुनिक दृष्टिकोणको संयोजनले लिटिल स्टेपले शिक्षा क्षेत्रमा नवप्रवर्तन र उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास पोखरेली समाजले गरेको छ । विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नयाँ टोलीले विशेष योजनाका साथ काम गर्नेछ ।






