
पोखरामा फेरि फोहोर संकलन कार्य सुरु भएको छ । निर्वाचनको दिन फागुन २१ गतेदेखि स्थगित भएको फोहोर संकलन कार्य पुनः १० दिन पछि आइतबारदेखि सुरु भएको पोखरा महानगरपालिकाले जनाएको छ ।
विभिन्न कारणले अवरुद्ध भएको फोहोर व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सञ्चालनमा ल्याइएको र सोमबार साँझसम्म करिब ३० प्रतिशत फोहोर उठाइसकिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो । मेयर आचार्यका अनुसार पोखरामा दैनिक झण्डै २०० टन फोहोर उत्पादन हुने गर्दछ । विगत १० दिनसम्म नियमित संकलन हुन नसक्दा करिब २ हजार टन फोहोर सडक, चोक, पेटी, चौतारा तथा सार्वजनिक स्थलमा थुप्रिएको अनुमान गरिएको छ । तीमध्ये हालसम्म झण्डै ३० प्रतिशत फोहोर संकलन गरिसकिएको र बाँकी फोहोर बुधबारसम्म उठाइसक्ने लक्ष्य महानगरले लिएको उहाँले जनानु भयो । उहाँले भन्नुभयो, “विगत केही दिनदेखि उठाउन नसकिएको फोहोर अहिले पुनः संकलन गर्न सुरु गरिसकेका छौं । बुधबारसम्म सडक क्षेत्रमा थुप्रिएका सबै फोहोर उठाइसक्ने हाम्रो योजना छ । त्यसपछि नियमित रूपमा टोल–टोल तथा घरअगाडि फोहोर संकलन गाडी परिचालन हुनेछ।”
फोहोर व्यवस्थापनका विषयमा देखिएको विवाद र अवरोधले महानगरपालिका माथि दबाब सिर्जना भए पनि अब अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका समाधानतर्फ अघि बढ्ने सहमति भएको मेयर आचार्यले दाबी गर्नुभयो । उहाँले हालको विषम परिस्थितिमा फोहोर कहाँ र कसरी व्यवस्थापन गरिएको भन्ने विषयमा अनावश्यक प्रश्न नगर्न आग्रह गर्दै वातावरणीय असर नपर्ने गरी अस्थायी व्यवस्थापन गरिएको तर्क गर्नुभयो । साथै, स्थायी समाधानका लागि फोहोर प्रशोधन केन्द्र निर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो । फोहोर व्यवस्थापनका क्रममा केही स्थानमा स्थानीयस्तरबाट अवरोध भए पनि पछि छलफल मार्फत समस्या समाधान गरी पुनः संकलन कार्य अघि बढाइएको महानगरले जनाएको छ । यसबीच महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक, चोक, बसपार्क, ताल–पोखरी तथा नदी किनारमा जथाभावी फोहोर नफाल्न नगरवासीलाई आग्रह गरेको छ । तर केही व्यक्तिहरूले सार्वजनिक स्थलमा फोहोर फालिरहँदा सडक पेटी, चौतारा तथा आइल्यान्ड क्षेत्रमा अझै फोहोरका थुप्रा देखिन थालेका छन् ।
गर्मी बढ्दै जानु र वर्षा सुरु हुनुले समयमै फोहोर व्यवस्थापन नभए दुर्गन्ध फैलिनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्ने सरोकारवालाहरूले चेतावनी दिएका छन्। महानगरपालिकाले नागरिकलाई अनुशासित रूपमा सहयोग गर्न तथा फोहोर व्यवस्थापनमा सहकार्य गर्न पुनः अपिल गरेको छ ।






