
पोखरा महानगरपालिकाका पूर्व मेयर तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्णबहादुर थापाको पार्थिव शरीर शनिबार शवयात्रासहित अन्त्येष्टि गरिने भएको छ ।
थापाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरा महानगरपालिकाले आइतबार महानगरका सम्पूर्ण कार्यालय तथा मातहतका शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
६६ वर्षीय थापाको बिहीबार कास्की क्षेत्र नम्बर–१ को निर्वाचन समीक्षा बैठकमा बोल्दै गरेका बेला अचानक ढलेपछि निधन भएको थियो । पार्टी कार्यालयमा आयोजित बैठकमा मन्तव्य राखेपछि कुर्सीमा बस्नु भएको थापा साथी नेताहरूसँग हात मिलाउने क्रममा एक्कासि ढल्न पुग्नु भएको थियो । तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले दिउँसो करिब ३ः४० बजे मृत घोषणा गर्नुभयो । प्रारम्भिक रूपमा हृदयाघातका कारण उहाँको मृत्यु भएको हुनसक्ने अस्पताल स्रोतले जनाएको छ ।
एमाले कास्कीका अनुसार शुक्रबार बिहान ७ः३० देखि १०ः०० बजेसम्म जिल्ला पार्टी कार्यालयको प्राङ्गण शान्ति वनवाटिकामा थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि बिहान ११ बजे पार्थिव शरीर उनको निवास पोखरा–बटुलेचौर लगिने र धार्मिक विधिअनुसार शवयात्रा गरिनेछ । थापाको अन्त्येष्टि शनिबार पोखरा–१६ स्थित याम्दीपुल नजिक सेती नदीको तुलसीघाटमा गरिने कार्यक्रम तय भएको एमाले नेता पार्टीका कास्की सचिव दर्शन लामाले जानकारी दिनुभयो ।
थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले एक शोक वक्तव्य जारी गरेको छ । वक्तव्यमा पोखराको विकास र समृद्धिमा थापाले पु¥याएको योगदानलाई पोखरेली नागरिकले सधैँ स्मरण गरिरहने उल्लेख गरिएको छ ।
महानगरले स्व. थापाको सम्मानमा चैत १ गते आइतबार महानगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरू (पूर्वनिर्धारित परीक्षा कार्यक्रम बाहेक) बन्द रहने जनाएको छ ।
पोखराका मेयर धनराज आचार्यले दिवंगत आत्माको बैकुण्ठबासको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो । साथै बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिकाले क्षमायाचना समेत गरेको छ ।
थापा २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुनु भएको थियो । उहाँ २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्यको जिम्मेवारी पनि सम्हाल्नु भएको छ । एमाले कास्कीले उनको सम्मानमा फागुन ३० देखि चैत २ गतेसम्म तीन दिन जिल्ला तथा मातहतका कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको जनाएको छ ।






