
पर्यटनको राजधानी पोखरामा जारी पोखरा सडक महोत्सवका कारण लेकसाइड क्षेत्रमा हाल पर्यटक भरीभराउ भएकाछनु् । यही पुस १३ गतेदेखि सञ्चालन भएको २७ औँ पोखरा सडक महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।
मंगलबारसम्म महोत्सवमा करिब १ लाख ५० हजार भन्दा बढी दर्शक एवं पर्यटकहरु सहभागि भएको रेवान पोखराका बरिष्ठ उपाध्यक्ष एवं महोत्सव संयोजक बशन्त गौतमले बताउनु भयो । यसैबीच नयाँ अंग्रेजी वर्ष २०२६ को स्वागतार्थ बुधबार मध्यरात १२ः०० बजे पोखराको लेकसाइड क्षेत्रमा आतिसबाजी प्रर्दशन गरिएको छ । आवश्यक प्रक्रिया पूरा गरी नेपाली सेनाको प्रत्यक्ष अनुगमन र जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा आतिसबाजी गरिएकोे कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । प्रशासनले उच्च सतर्कता अपनाउन निर्देशन जारी गर्दै सुरक्षा व्यवस्था सुदृढ गरिएको उल्लेख गरेको छ ।
बुधबार मध्यरातसम्म महोत्सव क्षेत्र भीडभाड भएकाले शान्ति–सुरक्षादेखि ट्राफिक व्यवस्थापनसम्म विशेष ध्यान दिइएको आयोजक रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । “सीसी क्यामरा निगरानी, पैदल गस्ती तथा पार्किङ्ग व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ,” पौडेलले भन्नुयो ।
त्यस्तै, महोत्सवलाई सभ्य, मर्यादित र सुरक्षित बनाउन सुरक्षानिकाय, महोत्सव आयोजक तथा स्थानीय सरोकारवालाले १२ बुँदे निर्देशन जारी गर्दै सहभागी सबैलाई नियमपालन गर्न आग्रह गरिएको छ । तोकिएको स्थानमै पार्किङ्ग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, अनुचित मूल्य नलिने, असभ्य व्यवहार नगर्ने, गुनासा भएमा अनलाइन ग्राहक अधिकार प्रणाली मार्फत उजुरी गर्न सकिने भएको छ । रात्रिकालीन बस सेवा समेत संचालन भएकोले नीजि भन्दा कालोप्लेटकै सवारी साधनमा यात्रा गर्न आग्रह गरिएको छ । यसैबिच, सडक महोत्सवका कारण हाल पोखराका होटल अकुपेन्सि करिब ८० प्रतिशत पुगेको छ । मुख्य पर्यटक क्षेत्रका होटलमा ८०–९० प्रतिशत अकुपेन्सि रहेको छ भने भित्री बस्तीका होटलमा ५०–७० प्रतिशत अकुपेन्सी रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । महोत्सवमा बुधबार पनि सांस्कृतिक झाँकी, नृत्य, संगीत, स्वादिलो स्थानीय खानेकुरा, खेलकुद प्रतियोगिता तथा विभिन्न कला झल्किने प्रस्तुतिहरू रहेको महासचिव बिरेन्द्र शेरचनले बताउनु भयो । तमु ल्होसार सार्वजनिक दिन मङ्गलबार फेवाताल किनारमा दर्शक तथा पर्यटकहरुको अत्याधिक भिडभाड भएको रेवानका महासचिव एवं प्रचार संयोजक बिरेन्द्र शेरचनले बताउनु भयो । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ । कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखरेली चर्चित व्यन्डहरूको प्रस्तुति जारी छ । ९० को दशकबाट चर्चित डि–मर्चा सहित उज्जन शाक्य, लेकाली, देउराली व्यन्ड विशेष आकर्षणका रूपमा प्रस्तुत भएको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले बताउनु भयो । न्यू इयर इभ स्पेसलमा कार्टुन क्रुजकी भाइरल नृत्याङ्गना आस्मा विश्वकर्मा र सरोज अधिकारीले ‘छिकिरी–छिकिरी’ लगायत गीतमा प्रस्तुति दिनुभयो । महोत्सव प्रवद्र्धकका रूपमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद् तथा सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरका रूपमा रहेका छन्। त्यस्तै म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केबल कार, रेड बुल सहयोगी संस्था रहेको रेवानले जनाएको छ ।






