Pokharapatra National Daily

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा शिक्षक सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा शिक्षक सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोला, कास्कीस्थित सार्दीखोला विद्यार्थी सहयोग समिति (Sardikhola Students Welfare Committee) ले आफ्नो स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ। वि.सं. २०५३ साल (सन् १९९६) मा श्री माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी भिम तामाङद्वारा स्थापित उक्त समितिले विगत तीन दशकदेखि विद्यार्थीहरूको शैक्षिक उत्थान, प्रतिभा विकास र शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित निरन्तर सामाजिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। वि.सं. २०८२ पौष ११ गते (मिति ०८१/०९/११, शुक्रबार) सम्पन्न उक्त कार्यक्रम समितिका अध्यक्ष हर्क बहादुर घर्तीको अध्यक्षतामा तथा संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमअन्तर्गत समितिले माछापुच्छ्रे गाउँपालिका वडा नं. १, २ र ३ भित्रका १२ वटा विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई कुल रु. ७,४२,०००/- बराबरको छात्रवृत्ति वितरण गरेको छ। साथै विद्यार्थीहरूबीच गणित दौड, मिठाई दौड, कविता तथा नृत्य प्रतियोगिता आयोजना गरी प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः रु. १६००, १३००, १००० र ७०० बराबरको स्टेशनरी पुरस्कार प्रदान गरिएको थियो। यसै अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षकहरूलाई विशेष सम्मान गरिएको छ। माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका शिक्षक एलिसा अधिकारी र संगीता गुरुङ, मेघराज आधारभूत विद्यालय, घाचोककी शिक्षक सपना मिजार, तथा अन्नपूर्ण आधारभूत विद्यालय, मिर्साकी शिक्षक तिलकुमारी गुरुङलाई उत्कृष्ट शिक्षकका रूपमा जनही रु. ६,०००/- नगद, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। शिक्षक छनोट विद्यालय, समुदाय र अभिभावकको सिफारिसका आधारमा गरिएको समितिले जनाएको छ। त्यसैगरी, माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका प्रधानाध्यापक तथा माछापुच्छ्रे गाउँपालिकाका उत्कृष्ट प्र.अ. सन्तोष आचार्यलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पुर्‍याएको दीर्घकालीन, नेतृत्वदायी र अतुलनीय योगदानको उच्च कदर गर्दै रु. ५०,०००/- नगद, दोसल्ला तथा सम्मानपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ। कार्यक्रमको सञ्चालन समितिका सचिव बेगनाथ पौडेलले गर्नुभएको थियो। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार, अभिभावक, पूर्वविद्यार्थी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले उत्कृष्ट शिक्षकहरू समुदायका साझा सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमहरूले शिक्षकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई शिक्षण पेसाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्