Pokharapatra National Daily

पोउवा संघमा आर्थिक ऐन र त्यसका प्रावधानबारे अन्तरक्रिया

 

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताएका छन् ।
हरेक व्यक्तिले गर्ने आर्थिक कारोबारबारे राज्य जानकार रहेको बताउँदै उनले कर छल्न खोज्नेहरुप्रति राजश्व प्रशासन नरम बन्न नसक्ने पनि प्रष्ट पारे ।
पोखरा उद्योग वाणिज्य संघको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा सोमबार संघ तथा आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको ‘आर्थिक ऐन २०७७ ले प्रदान गरेको छुट÷सुविधालगायत करसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले कारोबार बढ्दा खर्च पनि बढ्ने भएकोले ठूलो कारोबार हुँदैमा बढी कर तिर्नुपर्छ भन्ने मान्यता राख्न नहुने बताए । आफ्नो आय–व्ययको विवरण चुस्त–दुरुस्त राख्नसके दण्ड र जरिवानाबाट बच्न सकिने र राज्यले दिएका सुविधाहरु उपभोग गर्न करदाता स्वयं सचेत बन्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कर शिक्षालाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै व्यवसायीहरु भनेका कर लुकाउने वर्ग हो भन्ने मानशिकताबाट कर प्रशासन मुक्त हुनुपर्ने धारणा राखे । उनल कर तिर्ने निजी क्षेत्रलाई राज्यबाट उचित सम्मान र सुरक्षा दिनुपर्ने माग पनि गरे । व्यवसायीहरुले अञ्जानमा गरेको गल्तीमा पनि ठूलो सजायँ दिने प्रवृत्ति बेठीक भएको उनको भनाई थियो । कार्यक्रममा आर्थिक ऐन २०७७ ले दिएका सुविधाबारे कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत मदनबहादुर केसीले आर्थिक ऐनले आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ को आयव्यय विवरण मात्रै बुझाए पनि त्यसअघिका कर र जरिवानाबाट मुक्त हुन सकिने जानकारी दिए ।स्थायी लेखा नम्बर लिएर वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिको हकमा पनि फागुन मसान्तसम्म अघिल्ला २ आर्थिक वर्षमा लाग्ने आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशत बुझाए त्यसअघिका कारोबारको शुल्क मिनाहा हुने उनले जानकारी दिए । आर्थिक ऐनले कोभिड–१९ बाट प्रभावित कारोबारलाई आर्थिक वर्ष २०७६÷०७७ मा लाग्ने करमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको, नेपाल सरकारले बनाएको कोरोना कोषमा योगदान गरिएको रकम करयोग्य आय गणना गर्दा खर्च कट्टीको व्यवस्था मिलाइएको पनि उनले बताए । पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद र महासचिव सुरेन्द्रमान बिजुक्छेको संचालन रहेको अन्तरक्रियामा बोल्ने व्यवसायीहरुले कर प्रशासन व्यवसायी मैत्री हुनुपर्ने, कर शिक्षालाई अझ व्यापक बनाउनुपर्ने धारणा राखेका थिए । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६७औं वार्षिकोत्सवको सन्दर्भमा यो साता विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । २०११ साल माघ २५ गते पोखराकै जेठो सामाजिक संस्थाको रुपमा संघको स्थापना भएको हो । स्थापना दिवसको अवसरमा आइतबार संघको सचिवालयमा झण्डोत्तलन तथा चियापान कार्यक्रमको आयोजना पनि गरिएको संघका महासचिव बिजुक्छेले जानकारी दिए । उनका अनुसार संघका पूर्वअध्यक्ष सुरेशकुमार राजभण्डारी,संघका वर्तमान अध्यक्ष नारायण कोइरालाले झण्डोत्तोलन गरेका थिए ।

प्रतिकृया दिनुहोस्