
साउन महिना । २३ गते शुक्रवार ११ बजेको थियो । स्कुलका विद्यार्थीहरु पोशाकमा । लेकसिटी कलेज प्रवेश गर्नेबित्तिकै लाग्थ्यो, यहाँ कुनै मेलापर्व तथा प्रदर्शन चलिरहेको छ । नत मेला नै थियो नत कुनै प्रदर्शनी नै । थियो त केवल विचारका फूलहरू फुलिरहेका थिए, तर्कका पातहरू हल्लिरहेका थिए । साथमा क्याम्पस परीसरमा रहेको लिचीको हरितमय वोट । आँपको उस्तै बोट । विचमा रहेका एभोगार्डको बुटमुनी विद्यार्थी र शिक्षक शितल छाहारीको साथमा । विस्तारै शितलतालाई छिचल्दै विचार, तर्क र अभिव्यक्तिको अद्भुत संगम भएको दिन, क्याम्पसको प्रोजेक्टर जडान प्रविधि मैत्री दुई कक्षाकोठामा सबै शान्तमय वातवरणमा बसाई । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको ब्यानरमुनि शिक्षक र विद्यार्थीहरुको गरिमामय उपस्थितिमा उद्घाटन गरिएको प्रतियोगितामा लेकसिटीका दुई कोठामा सुरु भएको वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरू अगाडी गएर वोल्दा लाग्थ्यो— यिनीहरू बोल्न मात्र होइन, शब्दलाई नचाउन पनि जान्ने कलाकार हुन् । कोही जोशका साथ आवाज उचाल्दै कृषि, हस्तकलादेखि कपडा, उत्पादनको निर्यात प्रोत्साहनको वारे दिलै खोलेर बोले । छुट र प्रोत्साहनमा निर्यात उद्योगलाई कर छुट, भन्सार सुविधाका वारे चर्चा गरे । त्यसैगरी क्षेत्रीय व्यापार सम्झौताको वारे चर्चा गर्दै पारदर्शिता र डिजिटल प्रणाली अन्तर्गत भन्सार प्रक्रियामा सूचना प्रविधिको प्रयोगवारे मधुर स्वरमा प्रेरणादायी प्रसंग सुनाउँदै हलमा उपस्थित सबैको मन जित्दै थिए ।
नेपालको व्यापार नीति निर्यातमुखी भए पनि पारवहन समस्याले निर्यात क्षमतामा बाधा पु¥याइरहे पनि पारवहन सुदृढ गर्न वैकल्पिक मार्ग विकास सँगै रेल र सडक पूर्वाधार सुधार, सीमा प्रक्रियामा डिजिटलीकरण गर्नुपर्ने वर्तमान समयका माग भन्दै सम्बन्धित क्षेत्रलाई ध्यान आकर्षण गराउँदै थिए कक्षा कोठा तालिले गुञ्जियो । एक पछि अर्को विद्यार्थीहरुको भावुक प्रस्तुतिले कक्षा कोठाको वातवरण नै एकछिन मौन रह्यो । हरेक विद्यार्थीहरुको बोली दमदार देखीयो ।
एकै समयमा अर्को कक्षामा भएको प्रतियोगितामा अनुशासन वा स्वतन्त्रतामाः के ले असल विद्यार्थी सृजना गर्छ भन्ने शिर्षकमा समय सान्दर्भिक गहिराइमा पुगेर विद्यार्थी खुलेर बोले । जहाँ विद्यार्थीहरु अनुशासन र स्वतन्त्रता दुवै असल विद्यार्थी निर्माणका आधारस्तम्भ हुन् । यी दुई शब्दको सन्तुलनले मात्र वास्तवमै उत्कृष्ट विद्यार्थीहरू जन्मन्छन् । तर सहभागी विद्यार्थीहरुले दुवै शब्दमा पालै पालो केन्द्रित रहि असल विद्यार्थी बन्नमा आ–आफ्नो तर्क प्रस्तुत गरे । अनुशासनले विद्यार्थीलाई समयपालन, नियमित अध्ययन, जिम्मेवारीबोध र कठिन परिस्थितिमा पनि लक्ष्यमा अडिग रहन सिकाउँछ भनेर एक स्वरमा जोड दिए । स्वतन्त्रताले विद्यार्थीलाई नयाँ कुरा सोच्न, प्रश्न गर्न, प्रयोग गर्न र आफ्नै शैलीमा सिक्न प्रेरित गर्नाले संसार भरी विद्यार्थीहरुले नयाँ नयाँ विषयको अविश्कार र अनुसन्धनमुखीमा आर्कषण भएको विषयमा धाराप्रवाह भावना प्रस्तुत गरे । सहभागी हरेक विद्यार्थीहरुको प्रेरणादायी स्वर्ण मुखका मिठा वाणी मार्फत हलमा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाए । विद्यार्थीहरुले विषयवस्तुमा रहेर वक्तृत्वकला प्रतियोगितामा आफ्नो बौद्धिक क्षमता, तर्कशक्ति र भाषिक शैलीको लोभलाग्दो प्रस्तुतिले उपस्थित सवैको ध्यान खिचेको थियो ।
विद्यार्थीहरुले पस्केका हरेक शब्दका सुवासले सारा वातावरण आवजले गुञ्जीएको थियो । हिसान कास्कीको आयोजनमा भएको प्रतियोगितामा २१ स्कुलका ३८ विद्यार्थीहरु सहभागि रहेका थिए । चार जना विद्वान निर्णायकहरूको कलमलाई थाम्नै मुस्किल पर्नेगरी ३८ प्रतिभाहरूको उत्कृष्ट भिड थियो । सो भिडलाई समाल्न सफल भएका गुरुहरु नवराज अधिकारी, मदनप्रसाद वराल, डिल्लीराम भट्टराई र सुरज पौडेल निर्णायक मण्डलमा रहेका थिए । निर्णायक गुरु क्रमश नवराज अधिकारी र डिल्लीराम भट्टराईका अनुसार सहभागीहरूको आत्मविश्वास, भाषणको लय र प्रस्तुतीकरणले प्रतियोगितालाई थप जीवन्त बनाएको भने । नेपालको व्यापार नीति र पारवहन समस्या विषय नेपाली वक्तृत्वकलामा सहभागीवाट प्रथम मदरल्याण्ड स्कूलकी अद्धिति पराजुली पहिलो, वाल उदय स्कूलकी एलिसा भुषाल दोस्रो, प्रतिभा स्कूलकी अस्मिता वस्याल तेस्रो र न्यू ग्यालेक्सी स्कूलकी अञ्जु पुन मगर चौथो भएका थिए । त्यसैगरी अनुशासन वा स्वतन्त्रताः के ले असल विद्यार्थीहरु सृजना गर्छ भन्ने विषयक अग्रेजी वक्तृत्वकलामा ग्लोवल स्कूलकी जोशीना अधिकारी पहिलो, मदरल्याण्ड स्कूलकी श्रष्टा वराल दोस्रो, सगरमाथा स्कूलकी स्नेहा शर्मा, कास्की मोर्डनाइज स्कूलकी प्रेणा गुरुङ तेस्रो र प्रतिभा स्कूलकी अर्चना नेपाली चौथो भएका थिए । विजेता सवै विद्यार्थीहरुले ट्रफी र प्रमाणपत्र हातमा पाउँदो अनुहारमा देखिएको खुसी, हलका सबै दर्शकका लागि पनि जितजस्तै वातवरण बनाएको थियो भने लेकसिटी कलेजको भवन अगाडी सामुहिक तस्विर लिनेको भिड पनि उस्तै देखिन्थ्यो ।
सो कार्यक्रमको उद्घाटन गर्दै हिसान नेपालका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्तले हिसानले शैक्षिक गुणस्तर सँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि जोड दिँदै आएको वताए । यस्ता अतिरिक्त कार्यक्रमले विद्यार्थीको लुकेका क्षमता उजागर गर्न ठूलो सहयोग पुग्नेमा पन्तले जोड दिए । हिसान कास्कीका उपाध्यक्ष पुरन कुँवरले स्वागत गरेको कार्यक्रममा सचिव किरण सापकोटाले साहित्यमय लयमा कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको अन्त्यमा हिसान कास्कीका अध्यक्ष दिवकर जैशीले भने, “शब्दमा शक्ति हुन्छ, विचारमा क्रान्ति हुन्छ, र यस्तो मञ्चले युवाहरूमा दुवै शक्ति जगाउँछ।” भने । प्रतियोगितामा शब्द र विचारको यो रमाइलो प्रतिस्पर्धाले विजेता मात्र घोषणा गर्दैन बरु सहभागी हरेक विद्यार्थीको आत्मविश्वासमा नयाँ रंग भर्न सहयोग पुग्ने अध्यक्ष जैशीको विश्वास थियो । यस्ता प्रतियोगिताले बोल्ने मात्र होइन, सोच्न पनि सिकाउने वातवराण सृजना भएको अध्यक्ष जैशीले भने ।