Pokharapatra National Daily

राजारामको गीति संग्रह ‘लकडाउन–१२०’ बजारमा

कोरोनाका कारण लकडाउन भएको बेला पत्रकार राजाराम पौडेलले गीति संग्रह ‘लकडाउन–१२०’ ल्याएका छन् । १२० दिने लकडाउन सदुपयोग गर्दै उनले १२० वटा गीत, गजल, रोइला, दोहोरीगीत लगायत समेटेर पुस्तकको रुप दिएका हुन् ।
कृतिको पोखरामा आयोजित समारोहमा प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, राष्ट्रिय लोक तथा दोहोरीगी प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, स्रष्टाकी छोरी आहाना पौडेलले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले स्रष्टालाई आगामी कृतिको पनि शुभकामना दिँदै साहित्यिक क्षेत्रमा एउटा इँट्टा थपिएको बताइन् ।
समारोहमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले लकडाउनलाई पत्रकार पौडेलले सिर्जनात्मक काममा उपयोग गरेको बताए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले गीति लयमा पुस्तक आएको हुँदा राम्रा रचनालाई संगीतबद्ध गरिने प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार पौडेलले समयलाई उपयोग गर्न सकेको कारण कृति पाठकसमक्ष आउन सकेको बताए । कृति समीक्षा गर्दै साहित्यकार जीवनसागर भण्डारीले स्रष्टा पौडेलको पहिलो प्रयास अनुकरणीय भएको बताए । उनले केही रचना थप माझिन आवश्यक रहेको धारणा राखे ।
पोखरा थियटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार आरजू विष्ट सल्यानी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, साहित्यकार मोती भुजेल, रेशम गिरी, रुपिन्द्र प्रभावी कटु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कृतिको प्रकाशक बीएन पुस्तक संसार हो । भाषिक शुद्धता तथा सम्पादन विजय नेपाल र रुपिन्द्र प्रभावी कटुले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्