Pokharapatra National Daily

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका आधारमा अघि बढेको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) पोखरा महानगर कमिटीले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्र र राज्य पुनर्संरचनाको जग जबज भएको बताउनुभयो ।
मदन भण्डारीले २०४७ सालको संविधानमा राखेको २७ बुँदे असहमति नै मुलुकको परिवर्तनको आधार भएको उहाँले बताउनुभयो । जबजले समाज विकासका विभिन्न चरणमा शोषित, उत्पीडित वर्ग र समुदायका साथै सम्पूर्ण मानव जातिको मुक्तिलाई अङ्गीकार गरेको उहाँले बताउनुभयो । एमालेलाई चारैतिरबाट आक्रमण भइरहेको वर्तमान अवस्थामा पार्टीका कार्यकर्ता सङ्गठित भएर अघि बढ्न आग्रह गर्नुभयो । नेकपा (एमाले)का नेता सोमनाथ अधिकारी प्यासीले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल बनाउन सबैको दायित्व भएको बताउँदै त्यसका लागि पार्टी जिम्मेवार र जवाफदेही भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । एमाले पोखरा नगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको प्रदेश सचिव धनञ्जय दवाडी, एमाले जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, सुशील बस्नेतलगायतले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा महानगर कमिटीद्वारा प्रकाशित मुखपत्र ‘अभियान’को दोस्रो अङ्कको लोकार्पण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्