
पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।
बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम मार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँबरले पोखरापत्रलाइ वताए । विद्यार्थीलाई वास्तविक पत्रकार सम्मेलन जस्तै वातावरणमा प्रश्न सोध्ने र जवाफ दिन कार्यक्रमले सिकाएको संयोजक कुँवरले भने ।
पोखरा कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले वास्तविक पत्रकार सम्मेलन कस्तो हुन्छ भन्ने व्यवहारिक ज्ञान सिक्ने अवसर क्याम्पस परिवारलाई नै मिलेको भनिन् । प्रत्यक्ष रुपमा पत्रकार सँगै कार्यक्रम गर्नाले तयारी र प्रस्तुति सीपको विकास हुने प्रमुख नेगीले आत्मैदेखी खुशी व्यक्त गरिन् । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय भन्दा बढि विद्यार्थीहरु बिबिए, बिबिए फाइनान्स र बिसिएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका प्रमुख नेगीले जानकारी दिइन् । नमुना पत्रकार सम्मेलनले सहभागी विद्यार्थीहरुलाई थप उर्जा मिलेको प्रमुख नेगीले वताइन् । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी वताए । कार्यक्रममा पत्रकारहरु शान्ति गुरुङ्ग, शोभाकान्त सिग्देल र केशव शरण लामिछानेले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको नमुना पत्रकार सम्मेलनमा सहभागी विद्यार्थी सम्राट गुरुङले पोखरापत्रलाई वताए । नमुना पत्रकार सम्मेलनमा आँफै सहभागी भएर प्रस्तुत हुनाले जीवनमा नयाँ ज्ञान सिकेको र भविष्यमा पत्रकार सम्मेलन गर्नु परेमा सजिलो हुने विद्यार्थी प्रतिक श्रेष्ठले पोखरापत्रलाई भने । कक्षा कोठामा सैद्धान्तिक ज्ञान लिएर आज प्रयोगात्मक रुपमा प्रस्तुत गर्नाले आगमी दिनमा आगडि गएर बोल्ने आत्मविश्वास बढेको नमुना पत्रकार सम्मेलनमा सहभागी विद्यार्थी आयुषा श्रेष्ठले पोखरापत्रलाई प्रगति सुनाइन् । पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ ।