Pokharapatra National Daily

स्थिरता र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यकः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय सहित आर्थिक समृद्धि र सुशासनको लागि रुपान्तरणको अभियान माओबादीले मात्र गर्न सक्ने बताउनु भएको छ ।
पोखरामा शनिबार आयोजित बिशाल जनसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामाजिक न्याय सहित आर्थिक समृद्धि र सुशासनको लागि रुपान्तरणको अभियान माओबादीले मात्र गर्न सक्ने दाबी गर्नु भएको हो ।
मध्य पहाडी लोकमार्ग अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष प्रचण्डले कागं्रेस र एमाले नेतृत्वको सरकारमा धेरै ठुला ठुला भ्रष्टचार भएकोले उहाँहरुको नेतृत्वमा सरकारले सामाजिक न्याय सहित आर्थिक समृद्धि र सुशासनको लागि रुपान्तरण गर्न नसक्ने ठोकुवा गर्नुभयो । समाजबादी क्रान्तिको भिजन सहितको अभियानमा माओबादी अघि बढ्ने बताउदै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व नहुने पनि देशमा अन्यौलताको अबस्था भएको दाबी गर्नुभयो ।
राजनीतिक स्थायित्व गर्न प्रत्यक्ष राष्ट्रपति प्रणाली लागु गर्नुपर्ने उहाँले बताउनु भयो । आफुहरुले उक्त प्रणाली लागु गर्न माग गर्दा एमाले कागें्रसले अबरोध गरेको अध्यक्ष प्रचण्डले आरोप लगाउनुभयो । मध्य पहाडी लोक मार्ग अभियानमा केही दिन हिड्दा जनतामा देखिएको उत्साहले आफुहरुलाई थप उर्जा प्राप्त भएको बताउदै अध्यक्ष प्रचण्डले देश यतिवेला माओबादीमय हुदै आएको दाबी गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र यसको मर्म र भावना अनुसार अघि बढाउन माओबादी नेतृत्वको सरकार आवश्यक भएको बताउदै त्यसमा आफुहरु नयाँ म्याण्डेड अनुसार २०८४ मा देशकै एक नम्बर हुने जनाउनुभयो । युवाहरुको तमाम समस्याको समाधान गर्ने उपाय आफुहरुसंग रहेको समेत उहाँले जनाउनु भयो । अहिलेकोे सरकारले स्थायित्व दिन नसक्ने अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “संविधानसभाबाट संविधान बनाउँदा नै यसले स्थिरता र आर्थिक समृद्धि ठीक ढङ्गले हासिल गर्न सक्दैन भनेका थियौँ । हाल गणतन्त्र एक प्रकारको र निर्वाचन प्रणाली तथा शासकीयस्वरूप अर्को ढङ्गको भएको छ । अब कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाबारे जनतालाई प्रशिक्षित गर्नु आवश्यक छ ।”
उहाँले संविधान निर्माणका बेला प्रत्यक्ष निर्वाचित कार्यकारी भने पनि आफ्नै अडानमा बस्दा संविधान नबन्ने देखिएकाले ‘नोट अफ डिसेन्ट’सहित अडान छाडेको स्मरण गर्नुभयो । अध्यक्ष दाहालले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने आधार तयार भएको बताउनुभयो । “देशको स्थायित्व र सुशासनका लागि माओवादीले नै पहल र रूपान्तरणको अभियान छेड्नुपर्दछ भनेर लागिपरेका छौँ । रूपान्तरणको अभियान नेतृत्वबाट सुरु गरिएको छ, सबैले आत्मसमीक्षा गर्नुहोला”, उहाँले भन्नुभयो,“समाजवादी क्रान्तिको आधार तयार गरेर लैजाने सपनासहित जनजागरण अभियान अघि बढाइएको छ । समाजवादउन्मुख राज्य व्यवस्था परिकल्पना गरिए पनि संविधानमा यसबारे स्पष्टता नभएकाले यसबारे बुझाउन पनि जनतासँग सम्पर्क बढाएका छौँ ।” कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले उठाएका सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्दालाई जनताबीच लैजान आग्रह गर्नुभयो । महासचिव देव गुरुङले माओवादी नेतृत्वको सपना र दृष्टिकोणअनुसार निर्माण सुरुरू भएको मध्यपहाडी लोकमार्गको बाँकी काम छिट्टै पूरा गर्नका लागि सरकारलाई दबाब दिइने बताउनुभयो ।
पोखराको चिप्लेढुंगामा आयोजना हुने भनिएको उक्त जनसभा बिहानै देखि बर्षा भएका कारण प्रतिकुल मौसमका कारण एसआर क्याटरिङमा आयोजना गरिएको कास्की इन्चार्ज नेत्रनाथ अधिकारीले बताउनुभयो । अध्यक्ष प्रचण्डसंग गण्डकी प्रदेशका यातायात व्यवसायी, पर्यटन व्यवसायी, व्यपक्ता, जनआन्दोलन घाइते शहिद परिवार, नेता तथा कार्यकर्ताले भेटघाट समेत गर्नु भएको पार्टीका कास्की संयोजक विश्वप्रकाश लामिछानेले बताउनुभयो । नेकपा माओबादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्