
गण्डकी प्रादेशिक आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । पोखराको पुरानो विमानस्थलको दक्षिण भागमा हालै निर्माण गरिएको आपतकालिन गोदाम घर शुुक्रबार एक समारोहका बिच नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उक्त गोदामघर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।
विपद् पछि राहत सामाग्रि व्यबस्थापन र वितरण गर्न विपद्जन्य घटनाहरू भएमा तत्काल उद्दार तथा राहत छिटो र प्रभावकारी ढंगले गर्न पनि प्रदेशमा यस्ता गोदाम घरको आवश्यक भएको उहाँले जनाउनुभयो । हाल ६ प्रदेशमा रहेका गोदामलाई सम्बन्धि प्रदेशलाई हस्तान्तरण गर्ने प्रकृयामा रहेको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । जलवायु परिवर्तनका कारण मानव समुदायमा आउने विपद् र जनधनको क्षति, सामाजिक र आर्थिक पक्षलाई प्रतिकार्य राहत उपलब्ध गराउन आपतकालीन गोदामघर निर्माण गरिएको गृहमन्त्री लेखकले जनाउनुभयो । गोदाम घरले संकटको समयमा तत्काल प्रभावकारी बन्दाबस्ती सहायता सुनिश्चित गर्ने उहाँको भनाई थियो । सुदुरपश्चिम र कर्णालीको गोदाम घर समेत प्रदेश सरकारलाई हस्तान्तरण गरेको गृहमन्त्री लेखकले जनाउनु भयो । लुम्बिनी, मधेष र कोशी प्रदेशको गोदाम घर प्रदेश सरकारलाई अब छिट्टै हस्तान्तरण गर्ने उहाँले जनाउनु भयो । बागमती प्रदेश काठमाण्डौंमा रहेकोले त्यसलाई प्राधिकरणले नै हेर्ने गरी राख्ने भएको मन्त्री लेखकले जनाउनु भयो ।
प्रदेश सरकारले अब यसमा आवश्यक पर्ने सामान थप गर्न गृहमन्त्री लेखकले आग्रह गर्नुभयो । संघ सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्ने जनाउदै उहाँले प्रदेश भित्र आवश्यकताको आधारमा विभिन्न पालिकाहरुमा समेत गोदाम घर स्थापना गर्न आग्रह गर्नुभयो । पालिकाको भवनको एउटा कक्षालाई विपदको खोज, उद्धार गर्न सकिने गरी गोदाम घर बनाउन उहाँले आग्रह गर्नुभयो । उक्त गोदाम घर बनाउन सहयोग गर्ने दातृ संस्थालाई समेत धन्यवाद दिदै गोदाम घरको उचित सरक्षण गर्न गृहमन्त्री लेखकले सुझाव दिनुभयो ।
बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिरेको गृहमन्त्री लेखकको भनाई थियो । प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोड भन्दा नघट्ने गरी कोष समेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरण आदिमा सहयोग गरिरहेको उहाँले जनाउनु भयो ।
विश्व खाद्य कार्यक्रमले गोदामघरहरूको सञ्चालनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मीहरूको क्षमता विकासका लागि आवश्यक तालिम र प्राविधिक सहयोग गर्ने त्यसको समन्वय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने, गोदाम घरमा हाल विद्यमान मानवीय सहायता सामग्रीहरूको संख्या, अवस्था र अनुमानित मूल्य एकिन गरी सोको विवरण प्रदेश विपद् व्यवस्थापन समितिको रोहवरमा प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले तोकेको गोदाम प्रमुखलाई बुझाउने गरी गृहमन्त्री लेखक र मुख्यमन्त्री पाण्डे बिच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको हो । त्यसैगरी उक्त प्रकृया सम्पन्न नहुँदासम्म विश्व खाद्य कार्यक्रमले गर्दै आएको गोदामघरको सुरक्षा र व्यवस्थापनको कार्यलाई गोदाम प्रमुखसँगको प्रत्यक्ष समन्वय र निर्देशनमा निरन्तरता दिने, हस्तान्तरणपछि गोदाम घर र हस्तान्तरित मानवीय सहायता सामाग्रीको सुरक्षा थप सामग्रीहरूको प्राप्ति, पुनर्भरण, भण्डारण परिचालन, स्तरीकरण एवं अभिलेख व्यवस्थापन र बीमा सम्बन्धी कार्य प्रदेश सरकारले गर्ने, हस्तान्तरण प्रकृया सम्पन्न गर्ने क्रममा आवश्यक पर्ने थप समन्वय र सहजीकरण कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने र गोदामघर सञ्चालन सम्बन्धी अन्य व्यवस्था राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत आपत्कालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ बमोजिम हुने सम्झौतामा उल्लेख छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश विपदको उच्च जोखिममा रहेको बताउनुभयो । कार्यक्रममा पोखराका मेयर धनराज आचार्यको समेत उपस्थिति रहेको थियो । उक्त गोदाम घरमा ७ सय मेटिक्टन भण्डारण गर्ने क्षमता रहेको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा करिब २ करोडको लागतमा उक्त गोदाम घर निर्माण गरिएको हो ।