Pokharapatra National Daily

पोखरामा एक करोड बराबरको कन्दमुलको कारोवार हुने

गण्डकी प्रदेशको राजधानी पोखरामा यस वर्षको माघे संक्रान्तिको अवसरमा करिब एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार हुने भएको छ । मकर संक्रान्तिको अवसरमा पोखरामा यस बर्ष करिब एक करोड मुल्य बराबरको तरुल सहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको व्यवसायीहरु बताउनु हुन्छ ।
प्रतिकेजी १ सयदेखि ४ सय मुल्य बराबरका कन्दमुल पोखराका बजारमा उपलब्ध भएको पोखराका एक व्यवसायी गोविन्द प्रसाद आचार्यले बताउनु भयो । उहाँका अनुसार घर तरुल विभिन्न प्रजातिमा उपलब्ध छ जस्तै जाँते, पन्जे, सेतो तरुल त्यसै गरी वन तरुल र सकरखण्ड, पिडालु जस्ता कन्दमुल हाल पोखरामा बिक्रि वितरण भएको छ । पाल्पा, तनहुँ, गोर्खा, धादिङ लगायतका जिल्लाबाट आएको तरुल पोखरामा बिक्रि हुदैछ । पोखराको श्री कम्प्लेस कृषि उपजका एक व्यवसायी धर्म प्रसाद तिमिल्सिनाले अघिल्ला बर्षकै तुलनामा यस बर्ष कन्दमुल पोखरामा भित्रिएको बताउनु भयो । उहाँका अनुसार बजारमा हाल खुद्रा मुल्य प्रति केजी सकरखण्ड एक सय, जाँते तथा पन्जे तरुल प्रति केजी २ सय ५०, भैसे तरुल प्रति केजी १ सय ५० मा बिक्रि भएको छ । तरुल तथा कन्दमुल खादा मानव स्वास्थ्का लागि फाइदाजक हुने बताइन्छ । कन्दमुल जमिन मुनि फल्ने हुनाले भिटामिन सी, कार्वोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम जस्ता मानव शरिरका लागि आवश्यक तत्व पाइने चिकित्सकहरुले बताउदै आउनु भएको छ ।
कन्दमुलमा प्रोटिन भने कम पाइन्छ आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ भने मृगौला रोगीका बिरामीले यसको प्रयोग नगर्दा उचित हुने चिकित्सकको सुझाव दिएका छन्। यसैबिच, माघे संक्रान्तिको अवसरमा मंगलबार पोखराको ढुंगे साँघुमा माघे जात्रा सहितको हार्ट बजार समेत लाग्ने भएको छ । साथै उक्त क्षेत्रमा विभिन्न खेलकुद समेत हुने तयारी भएको छ ।

प्रतिकृया दिनुहोस्