Pokharapatra National Daily

पोखरेली युवा साँस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

श्री भैरव साँस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान गरको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद १ लाख १ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित परिवारका अध्यक्ष उपेन्द्र पौडेललाई शनिबार आयोजित कार्यक्रममा सम्मान गरेका थिए । प्रमुख आमन्त्रित मेयर धनराज आचायले पोखरेली युवा साँस्कृतिक परिवार आफैमा पोखराको ब्राण्ड हो, परिवारले पोखराको गरिमा उचो बनाएको उनको धारणा थियो । वाङ्मयिक क्षेत्रको राजधानी पोखरा त थिदै थियो आगमी चैत्र ४ गते पर्यटनको राजधानी घोषणा गर्ने तयार छौँ भनेँ । मेयर आचार्यले महेन्द्रपुलमा रहेको सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी पृथ्वीचोकको ‘पोखरा घर’मा रहने जानकारी दिए । १० करोड लागतमा १८ महिनाभित्र पोखरा घर निर्माण हुने र त्यसको फागुन २७ गते आइतबार शिलान्यास गर्ने जानकारी दिए ।
परिवारका अध्यक्ष उपेन्द्र पौडेलले फुर्किदा धेरै नबोल्नु भने झै खुशी बाँडे बढ्ने हुनाले भैरव समितिले पोयुसाँपलाई भरोसा गरेकोमा आभार व्यक्त गरे । उनले ४६ वर्षसम्म वाङ्मयिक संस्था चलाइरहँदा आज पोखराको मिनी एकेडेमी भएको प्रमाणित भएको बताए ।
विक्रमाब्द २०३४ सालमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्य अध्यक्ष र साहित्यकार सरुभक्त सचिव रहेको पोखरेली युवा साँस्कृतिक परिवार गठन भएको थियो । ‘साहित्य, कला र सङ्गीतको उत्थान ः हाम्रो प्रण’ को उद्घोषका साथ स्थापित पोयुसाँपले राजधानी बाहिर रहेर वाङ्मयिक क्षेत्रमा ४६ वर्षको योगदान दिएको छ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०५५ सालमा स्थापित क्षेत्रीयस्तरको पुरस्कारबाट कृष्णबहादुर श्रेष्ठ, प्रज्ञारत्न बज्रांचार्य, चेतन कार्की सम्मानित भएको जनाए । २०६३ बाट प्रत्येक तिन वर्षमा प्रदान गर्दै आएको यो पुरस्कारबाट यस अघि फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, जगमान गुरुङ सम्मानित भइसकेका छन् । सर्वज्ञमान प्रधानाङ्ग शास्त्रीय संगीत साधक तथा संस्कृतिकर्मी हुन् । पोखरामा देखाइने भैरवनृत्य सञ्चालनमा वाद्यवादक, राग गायक एवम् गुरुका रूपमा उनको भूमिका उल्लेखनीय थियो । संस्कृति र संगीतको क्षेत्रमा सक्रिय संस्कृतिकर्मी, साधक, सेवी र संस्थाहरूको सम्मान गर्ने उद्धेश्यले आफू र आफ्नी धर्मपत्नीको नाममा उनले आफू जिवित रहँदा नै सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०५५ सालमा नै स्थापना गरी सञ्चालनको अभिभारा श्री भैरव साँस्कृतिक संरक्षण समितिलाई दिएको जानकारीे तीर्थ श्रेष्ठले आफ्नो मन्तव्यमा राखेका थिए ।
पोखरालाई साहित्य, कला र सङ्गीतको राजधानी बनाउन विगत ४६ वर्षदेखि अविछिन्न क्रियाशील पोखरेली युवा साँस्कृतिक परिवारलाई सम्मान गर्न पाउँदा भैरव साँस्कृतिक संरक्षण समिति नै सम्मानित भएको महससु गरेको समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले बताए । सम्मानित संस्था पोखरेली युवा साँस्कृतिक परिवारलाई सल्लाहकार कृष्णदेव प्रधानाङ्ग, पुरस्कार योग्य प्रतिभा चयन समितिका संयोजक तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, सर्वज्ञमानकी सुपुत्री शारदा वैद्य, वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायतका व्यक्तित्वले शुभकामना दिएका थिए । श्री सर्वमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० पुरस्कार योग्य प्रतिभा समितिमा संयोजक तीर्थ श्रेष्ठ, सदस्यहरूमा कृष्णबहादुर श्रेष्ठ, सुरेन्द्रमान विजुक्छे, तीर्थमान प्रधानाङ्ग र कृष्णदेव प्रधानाङ्ग रहेका थिए । पुरस्कार सम्मान अर्पण समारोह श्री भैरब साँस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव सुरेन्द्रमान विजुक्छेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्