Pokharapatra National Daily

मीना सिर्जनशील पत्रकारिता पुरस्कारबाट थापा र पौडेल पुरस्कृत

नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित ‘मीना सिर्जनशील पत्रकारिता पुरस्कार’बाट पोखराका दुई महिला पत्रकार पुरस्कृत भएका छन् ।
उक्त पुरस्कारबाट बिनुकुमारी थापा ‘बिनु’ (२०७९) र बालकुमारी पौडेल ‘तारा’ (२०८०) लाई शुक्रबार एक समारोहका बिच प्रदान गरिएको हो ।
गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, पुरस्कार दाता महिला उद्यमी मीना गुरुङ, महासंघ कास्कीका अध्यक्ष विमल भण्डारी लगायतले पत्रकारद्वयलाई जनही नगद २० हजार एक सय ११ राशि सहित सम्मानपत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले प्रदेश सरकारले छिट्टै आमसञ्चार विधेयक ल्याउने बताउनुभयो । “संसदमा पेस भएर छलफलका लागि विषयगत समितिमा गएको छ, समितिमा व्यापक छलफल र सुझाव लिएर आवश्यक परिमार्जनसहित विधेयक पास गर्छौं”, उहाँले भन्नुभयो । महिलाका लागि पत्रकारिता पेसालाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको उहाँको भनाई थियो । समाज रूपान्तरणको अभियानमा पत्रकारको अग्रणी भूमिका रहने मन्त्री अर्यालले जनाउनु भयो ।
उक्त पुरस्कार कोष गण्डकी प्रदेशसभाका पूर्वसदस्य तथा महिला उद्यमी मीना गुरुङले स्थापना गर्नुभएको हो । पुरस्कृत पत्रकार थापा पोखरा टेलिभिजन र पौडेल पोखरा सिटी डट कममा आबद्ध हुनुहुन्छ । उक्त पुरस्कार हरेक वर्ष महिला पत्रकारलाई प्रदान गरिँदै आएको छ ।
कार्यक्रममा पुरस्कारका संस्थापिका मीना गुरुङको जन्म दिनको अवसरमा केक समेत काटेर जन्म दिन मनाइएको थियो । कार्यक्रममा पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्य, महासंघका पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेल, उपाध्यक्षद्धय रामप्रसाद तिमिल्सिना, जमुनावर्षा शर्मा, सहसचिव श्रीराम सिग्देल लगायते पत्रकारिताको बिषयमा वोल्नु भएको थियो । उक्त कार्यक्रममा पुरस्कार दाता देखि पुरस्कार प्राप्त गर्ने पुरस्कार अर्पण गर्ने प्रमुख अतिथि र महिलाकै अध्यक्षतामा कार्यक्रम भएको थियो । सायद यस्तो संगोज विरलै हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्