Pokharapatra National Daily

पोखराका ट्याक्सी मिटरमा चल्न तयार

पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् ।
गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाए ।
विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरेपनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको भन्दै जनगुनासो उठ्दै आइरहेको थियो । यातायात मन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको अन्तरक्रियामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताउनुभयो ।
“विगतमा सरकार र व्यवसायीबीच भएको सहमति पालना गरेर जान हामी तयार छौँ, ट्याक्सी व्यवसायीको मर्का पनि सरकारले बुझिदिनुप¥यो”, उहाँले भन्नुभयो, “महँगीका आधारमा भाडादर समायोजन हुनुपर्छ, स्वचालित भाडादर कायम हुनुपर्छ ।” ट्याक्सी व्यवसायीलाई मात्र दोष थोपर्ने गरिएको भन्दै इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगी जस्ता कारणले मिटर प्रणालीमा समस्या आउने गरेको अध्यक्ष तिवारीले उल्लेख गर्नुभयो । “इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्छ, पटकेलगायत यातायातका सेवालाई अनलाइन प्रणालीमा लैजान सकेमा व्यवसायीलाई राहत पुग्छ”, उहाँले भन्नुभयो, “एउटा प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अर्कै काममा प्रयोग भइरहेको छ, रातो प्लेटका गाडीले पनि यात्रु बोकिरहेका छन्, यसलाई कडाइका साथ रोक्नुपर्छ ।” दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार १५ किमिको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु. ८० र त्यपछि प्रति दुई सय मिटरको १० रुपैयाँ तोकिएको छ । १५ किमि भन्दा बढीको दुरीमा प्रति किमि रु. ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो । मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउनुभयो ।
“एक हप्ताभित्रमा पोखरा उपत्यकामा गुड्ने ट्याक्सी मिटरमा गुड्छन्, मिटर प्रणालीमा नचलेको पाइएमा कारबाही हुन्छ, ट्राफिक प्रहरीले नियमित अनुगमन गर्छ, मन्त्रालयबाट पनि यसको नियमन गर्छौं”, उहाँले भन्नुभयो, “ट्याक्सी मिटरमा नहिँड्दा यात्रु ठगिइरहेको गुनासो आइरहेको छ, मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी अझै कार्यान्वयन हुन नसकेको महाशाखा प्रमुख पौडेलले बताउनुभयो । उक्त प्रतिबद्धतापत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जीपीएस जडा गर्नुपर्ने, चालकको छुट्टै पोसाक हुनुपर्नेलगायत उल्लेख छ । तर, यी कुनै पनि शर्त ट्याक्सीले व्यवसायीले लागू गर्न सकेका छैनन् ।
यातायातमन्त्री जुग्जालीले ट्याक्सीलाई तुरुन्त मिटर प्रणालीमा चलाउन यातायात व्यवसायीसमक्ष आग्रह गर्नुभयो । “विगतको समझदारी पालना गर्नुस्, मिटरमा नचल्ने ट्याक्सी चालकलाई अब हामी कारबाही गर्छौं”, उहाँले भन्नुभयो, “स्वचालित भाडादर पनि लागू हुन्छ, व्यवसायीलाई मर्का पर्ने देखिएमा पुनः भाडा समायोजन गर्न सकिन्छ ।”
उहाँले ट्याक्सी व्यवसायमा देखिएको रुट परमिटको समस्या हल गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । दुई वटा जिल्लाको मात्र रुट परमिट हुँदा प्रदेशभित्रै एक ठाउँबाट अर्का ठाउँमा जाँदा पटके तिर्नुपर्नेलगायत झन्झट व्यहोर्न ट्याक्सी चालक बाध्य छन् । गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले सरकारले प्रदेशभित्र एउटै परमिट लागू गर्नुपर्ने बताउनुभयो ।
“गोरखाबाट पोखरा आउँदा पनि पटके काट्नुपर्ने, कर तिर्नुपर्ने बाध्यता छ, यसको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा निर्बाध चल्नु पाउने गरी रुट परमिट दिनुपर्छ”, उहाँले भन्नुभयो, “समथर ठाउँ र सहरी क्षेत्रमा जस्तो पहाडी जिल्लामा मिटरमा ट्याक्सी चलाउन सम्भव नभएपनि वैज्ञानिक भाडादर कायम गर्न हामी तयार छौँ ।”

प्रतिकृया दिनुहोस्