Pokharapatra National Daily

प्रदेशसभाको विशेष अधिवेशन माग

गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन लिखित माग गरेका छन् ।
दुवै दलका गरी १७ प्रदेशसभा सदस्यले हस्ताक्षर गरी मंगलबार गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र जनता समाजवादीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीलाई बैठक माग गरिएको पत्र हस्तान्तरण गरेका थिए ।
संविधानले नागरिकलाई स्वास्थ्यसम्बन्धी मौलिक हक प्रदान गरेको भए पनि विपन्न र असहाय नागरिकले परीक्षण र उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको, महङ्गी अस्वभाविक बढेको, बजेट कार्यान्वयन निराशाजनक रहेको र जनसरोकारका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न सरकार असफल भएको पत्रमा उल्लेख छ । कांग्रेस दलका नेता नेपालीले कोरोनाबाट जनजीवन प्रभावित भएको अवस्थामा जनस्वास्थ्य र जीवनसँग सम्बन्धित संवेदनशील विषयमा प्रदेशसभा मौन रहन नहुने र यस बारेमा संसद्मा छलफल आवश्यक भएकाले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार विशेष अधिवेशन माग गरिएको बताए । उनले भने, ‘शुरुदेखि नै हामी विश्वव्यापी महामारी कोरोनाका विषयमा सरकारलाई सचेत गर्दै आएका थियौ’ । महामारीको प्रभाव अहिले पनि रहेको र सबै क्षेत्रमा यसको असर परेको अवस्थामा जनताको समस्या सदनमा छलफलका लागि विशेष अधिवेशन माग गरेका हौँ ।
जनता समाजवादीका प्रदेशसभा सदस्य आचार्यले कोरोना संक्रणमण र मृत्यु दर समेत बढेको अवस्थामा सरकारले परीक्षण र अस्पतालमा जनशक्ति व्यवस्थापनमा सरकारले बेवास्ता गरेको बताउँदै जनसरोकारका विषयमा छलफलका लागि संसद् अधिवेशन माग गरिएको बताए । प्रदेशसभाको अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले अधिवेशनको मिति तोक्न सक्ने संविधानमा व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्