आज : २०२६-१०-१३, मङ्गलबार

पुननिर्माणपछि  खुल्यो तालबाराही मन्दिर, भक्तजनमा उत्साह

पर्यटकीय राजधानी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिर पुनर्निर्माण पछि आइतबार घटस्थापनाको दिनदेखि भक्तजनका लागि खुला गरिएको छ ।
करिब तीन वर्षदेखि पुनर्निर्माणका क्रममा बन्द रहेको मन्दिर पुरानै स्वरूपमा तयार भएसँगै दर्शनार्थीका लागि खुला गरिएको हो । फेवातालको बीचमा रहेको सानो टापुमा रहेको तालबाराही मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो । माछापुच्छ्रे हिमालको छाया, फेवातालको मनोरम दृश्य र धार्मिक आस्थाका कारण यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहने गरेको छ । मन्दिर पुनः खुला भएसँगै दशैँको अवसरमा दर्शनार्थीको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
तालबाराही मन्दिर पुनर्निर्माण प्राविधिक समितिका संयोजक भरतराज पहारीले पुरातात्विक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर मन्दिरको पुनर्निर्माण गरिएको बताउनुभयो । देशकाल, परिस्थिति र भौगोलिक कठिनाइका कारण निर्माणमा समय लागेको उहाँको भनाइ छ । मन्दिर पुनर्निर्माणका क्रममा पुराना सामग्रीमध्ये करिब ८० प्रतिशत पुनः प्रयोग गर्ने लक्ष्य राखिएको भए पनि करिब ९० प्रतिशत सामग्री पुनः प्रयोग गर्न सफल भएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले जानकारी दिनुभयो ।
मन्दिरका पुजारी समेत रहनु भएको उपाध्यक्ष पहारीका अनुसार करिब एक करोड ४० लाख रुपैयाँको लागतमा मन्दिरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको हो । विसं २०७२ को भूकम्पका कारण तीनतले मन्दिरको भुइँतलासहितको संरचना दक्षिणतर्फ करिब तीन इञ्च ढल्किएपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको थियो । विसं २०७९ कात्तिकमा पुरानो मन्दिर भत्काएर पुनर्निर्माण सुरु गरिएको थियो । मन्दिर निर्माणमा पुरातत्व विभागले २५ लाख रुपैयाँ सहयोग गरेको थियो भने बाँकी रकम विभिन्न सरकारी निकाय र भक्तजनको सहयोगबाट जुटाइएको हो । मन्दिर पुनः खुला भएपछि भक्तजनले पुरानै मन्दिरमा पुगेर देवीको दर्शन तथा पूजाआजा गर्न पाउने भएका छन् । यसअघि मूल मन्दिर पुनर्निर्माण भइरहेका बेला वैकल्पिक स्थानमा राखिएको प्रतिमामा पूजा गर्ने व्यवस्था मिलाइएको थियो । यसैबीच, फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले पछिल्लो समय पोखरामा पर्यटकको चहलपहल कम रहेको बताउनुभयो । देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण पर्यटकको आवागमन प्रभावित भएको उहाँको भनाइ छ । मौसम खुल्न थालेसँगै पर्यटकको आगमन बढ्ने र मन्दिर खुला भएपछि फेवाताल क्षेत्रमा थप चहलपहल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
दशैँको घटस्थापनादेखि तालबाराही मन्दिरमा दर्शनार्थीको भीड बढ्ने गरेको छ । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको मन्दिर पुनः सञ्चालनमा आएसँगै पोखराको धार्मिक पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
तालबाराही मन्दिरको इतिहास निकै पुरानो मानिन्छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर मन्दिर स्थापना गरेको जनश्रुति छ । मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहेको स्थानीय धार्मिक मान्यता छ ।
प्राचीन समयमा माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूजा गर्न थालिएको र पछि त्यही स्थानमा मन्दिर स्थापना गरिएको बताइन्छ । सामान्य झुप्रोको स्वरूपमा रहेको मन्दिरलाई तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरूपमा निर्माण गराउनुभएको थियो । त्यसपछि तालबाराही मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित भएको हो ।
फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले भोटेकोशी बाढीपछि पर्यटक आगमन न्यून हुँदा डुङ्गा चढ्नेसमेत घटेकामा अबदेखि मन्दिर खुला भएपछि भक्तजन तथा यात्रुको संख्या वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू