पोखरामा स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

पोखरामा स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२८ सौर्य माझठानाबाट कालिकातर्फ आउँदै गरेको कालिका माध्यमिक विद्यालयको ग.२ ख. १४१७ नम्बरको स्कुल बस बिहान ओख्लेभीरमा दुर्घटना हुँदा ३ छात्रा, १ छात्र र एक जना प्रौढ गरेर कुल ५ जनाको मृत्यु भएको हो । १४ जना घाइते भएका छन् । बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका–२८ माझठानाकी १३ वर्षीया ममता तिवारी, सोही ठाउँका १४ वर्षीय अशिम कँडेल, कक्षा १० मा अध्ययनरत माझठानाकी १४ वर्षीया रुमिका नेपाली र माझठानाकै कक्षा १० मा अध्ययरत सुवेच्छा तिवारी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार भएका पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । घाइतेहरूमा पोखरा–२८ सौर्यकी कक्षा १० मा अध्ययनरत १६ वर्षीया सृष्टी तिवारी, सोही ठाउँका कक्षा १० मा अध्यनरत १६ वर्षीय शिसन थापामगर र डाँडागाउँका १६ वर्षीय कक्षा १० मा अध्यनरत सौगात तिमिल्सिना रहेका छन् । उनीहरूको अवस्था मध्यम रहनुका साथै बोल्न सक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेमध्ये माझठानाकी १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । छ ।
यसैगरी मादी गाउँपालिका–१२ पहिरेकी १४ वर्षीया स्नेहा खत्री, पोखरा–२८ माझठानाकी १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अङ्कित पराजुली, मादी–१२ पहिरेकी १५ वर्षीया स्मृति खत्री, पोखरा–२८ माझठानाकी १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगर घाइते भएका छन् । उनीहरू सबैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । बस चालक पोखरा महानगरपालिका–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ । उहाँको अवस्था मध्यम छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको कमान्डमा सात जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण पोखराबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलराम गौतमको कमान्डमा १० जनाको टोली उद्धारमा खटिएको थियो । घाईते बसका चालक पोखरा–१५ का ५७ वर्षिय तुलबहादुर गुरुङ पनि घाईते छन् । घाईते सबै विद्यार्थीको टाउकोमा चोट लागेको छ भने चालक गुरुङको छाती र ढाडमा चोट लागेको उनले बताए ।
दुर्घटनापछि शुक्रबार दिनभरी नै अस्पतालमा मृतक तथा घाईतेका आफन्तको भीड लागेको थियो । भावविह्वल अवस्थामा रहेका उनीहरुले घटनाको निस्पक्ष छानविन गर्न माग गरेका छन् । घटनाको कारण खुलिसकेको छैन । यद्वपी गाडी अन्त्यन्त पुरानो अवस्थामा रहेकाले प्राविधिक समस्याका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनापश्चात पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीसहितको टोलीले घटनास्थलको स्थलगत अवलोकन गर्नुका साथै घाईते तथा मृतकका आफन्त भेटेका थिए ।
महानगरले बनायो ५ सदस्यीय छानविन समिति
यसैबीच, पोखरा महानगरपालिकाले स्कुल बस दुर्घटनाको छानविनका लागि बरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठीत समितिको सदस्यहरुमा मेकानिकल ईञ्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक प्रहरी सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् । समितिलाई घटनाको कारणसहित सत्यतथ्य छानविन गरि प्रतिवेदन बुझाउन भनिएको छ । विद्यालय बसको अवस्था, विद्यार्थीको सुरक्षित आवागमनसँगै आगामी दिनमा अप्नाउनुपर्ने सावधानीका बारेमासमेत सुझाव पेश गर्न छानविन समितिलाई निर्देशन दिइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।











