आज : २०२६-०६-२५, बिहीबार

माछापुच्छे गाउँपालिकाको बजेट ७० करोड ४६ लाख

कास्कीको माछापुच्छे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको उन्नाइसौं गाउँसभा अधिवेशनमा उपाध्यक्ष सीता अधिकारीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।
गाउँपालिकाले चालुतर्फ ४८ करोड ७७ लाख २४ हजार रुपैयाँ तथा पुँजीगततर्फ २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ । उपाध्यक्ष अधिकारीले प्रस्तुत गर्नु भएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजन गरेको ७० करोड ४६ लाख ७० हजार रुपैयाँमध्ये सबैभन्दा बढी ३३ करोड ९४ लाख ९२ हजार रुपैयाँ सामाजिक विकास क्षेत्रमा विनियोजन गरेको छ । यस्तै, पूर्वाधार विकासतर्फ १५ करोड ९५ लाख ९२ हजार रुपैयाँ, गाउँपालिका तथा मातहतका कार्यालय सञ्चालन एवं व्यवस्थापनतर्फ १२ करोड ८० लाख ३३ हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ४ करोड ६० लाख ६० हजार रुपैयाँ तथा आर्थिक विकासतर्फ ३ करोड १४ लाख ९३ हजार रुपैयाँ बजेट छुट्याइएको उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनु भयो । स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच र सेवा गुणस्तर अभिवृद्धिका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्र स्तरोन्नति, औषधि खरिद, विद्यालय स्वास्थ्य परीक्षण, महिला स्वास्थ्य स्वयंसेविका सशक्तीकरण, पाठेघर तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम लगायतका योजना समावेश गरिएको छ ।
शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको सेवा सुविधा व्यवस्थापन, प्राविधिक शिक्षामा छात्रवृत्ति तथा खेलकुद प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिइएको छ । विशेष गरी कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराउन विद्यालय खाजा कार्यक्रम सञ्चालन गरिने भएको छ । यस कार्यक्रमका लागि गाउँपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । यसअघि संघीय सरकारले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म मात्र दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यसहित आधुनिक कृषि, मौरीपालन, सिँचाइ, कृषि उत्पादन संकलन केन्द्र स्थापना, उन्नत बीउ प्रवद्र्धन तथा पशु स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाले पशुपक्षी क्षेत्रमा आहारा उत्पादन उद्योग स्थापना गर्ने नयाँ कार्यक्रम समेत अघि सारेको छ। प्रदेश सरकार तथा निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन हुने उक्त उद्योग स्थापनाका लागि आगामी आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।
उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमै पशुपक्षी आहाराको उत्पादन हुने, कृषकको उत्पादन लागत घट्ने तथा रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्रको विकासका लागि पदमार्ग निर्माण, पर्यटकीय पूर्वाधार विस्तार, पर्यटन उद्धार जनशक्ति उत्पादन, घले गुरुङ संग्रहालय निर्माण तथा पिपर पिजेन्ट कन्जरभेसन ल्याण्डस्केपको प्रवद्र्धनका कार्यक्रम बजेटमा समेटिएका छन् । गाउँपालिकाले खुमै, कोर्चाङ, तातोपानी, लम्पुसलगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जोड दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीका अनुसार बजेटले सीमित स्रोतसाधनका बाबजुद उत्पादन, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिइएको बताउनु भयो । गाउँपालिकाले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ४ करोड ६० लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ भने संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटमार्फत बजेट व्यवस्थापन गर्ने जनाएको छ । यसअघि गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू