Pokharapatra National Daily

फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्छौँः सभापति थापा

आसन्न निर्वाचनमा देशमा दुई प्रकारका अतिवादले स्थान पाउन सक्ने खतरा रहेको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बताउनुभएको छ । पोखरामा शुक्रबार आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ का घटनालाई लिएर चरम ध्रुवीकरण हुन सक्ने संकेत गर्नुभयो ।
“एउटा अतिवाद २३ भदौमा केही भएको हैन, भएन भन्ने खालको छ,” थापाले भन्नुभयो, “अर्को अतिवाद २४ भदौमा आफैं सिंहदरबार जलाउन लगाउने अनि आफैं जेलबाट भाग्ने प्रवृत्तिको हुन सक्छ ।” उहाँले यस्ता प्रवृत्तिप्रति सजग रहन मतदातालाई आग्रह गर्नुभयो । थापाले देशलाई अब केवल राजमार्ग हैन, त्यसमा सही दिशामा कुद्ने धावक र सजग चालक आवश्यक रहेको उल्लेख गर्नुभयो । “कोही भन्छन्, म गाडीमा बसेपछि आफैं कुद्छ। कोही भन्छन्, म चालक भएपछि देश आफैं कुद्छ। तर म भन्छु, एक्लैले देशको गाडी गुडाउन सक्दैन,” उहाँले भन्नुभयो, “त्यसका लागि बलियो टिम चाहिन्छ। स्पिडमा चलाउनुपर्छ, तर सजगताका साथ, दुर्घटना नगराई ।” उहाँले स्थायित्व, सहकार्य र सक्षम नेतृत्वमार्फत मात्रै मुलुकलाई सही गतिमा अघि बढाउन सकिने धारणा राख्नुभयो ।
सभापति थापाले २०४६ सालपछि मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने घोषणा गर्नुभयो । उक्त छानबिनको सुरुवात आफू र २०४६ पछि प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाबाटै गरिने उहाँको भनाइ थियो । तथ्य र छानविनका आधारमा पुष्टि भए आफ्ना बाबालाई पनि कानूनि दायरामा ल्याउने उहाँको दाबी थियो । “पहिलो छानबिन गगन थापा र शेरबहादुर देउवाबाट सुरु हुन्छ,” उहाँले स्पष्ट पार्नुभयो, “कानुनभन्दा माथि कोही हुँदैन। बाबु भए पनि दोषी ठहरिए कारबाही हुन्छ ।” देश विकास कानुनी परिधिभित्र रहेर गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कसैलाई ठोकेर वा बाँधेर हैन, विधि र प्रक्रियाअनुसार सुशासन कायम गरिने बताउनुभयो । थापाले कांग्रेस बदलिएको र नयाँ संकल्पसहित मैदानमा आएको दाबी गर्नुभयो । “कांग्रेस बलियो भएर आएको छ । पाँच वर्षमा देशमा कार्यापलट गराउँछौं,” उहाँले उद्घोष गर्नुभयो ।
उहाँले भ्रष्टाचारमुक्त शासन, आर्थिक पुनरुत्थान र राजनीतिक स्थायित्वलाई मुख्य प्राथमिकता बनाइने बताउँदै मतदातासमक्ष विश्वासको मत माग्नुभयो। आसन्न निर्वाचनलाई मुलुकको दिशा तय गर्ने निर्णायक अवसरका रूपमा व्याख्या गर्दै थापाले अतिवादको बाटो छाडेर स्थायित्व, सुधार र समृद्धिको मार्ग रोज्न आह्वान गर्नुभयो ।
सभापति थापाले सामाजिक सञ्जालमा मात्र सीमित नबस्न आग्रह गर्दै घरदैलो अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो। “गोडा चलाऔं, जनताको घरदैलो पुगौं, प्रश्नको उत्तर दिएर सन्तुष्टिपछि मात्र भोट मागौं,” उहाँले भन्नुभयो ।
कार्यक्रममा उपसभापति विश्व प्रकाश शर्माले कांग्रेसलाई पुरानो ब्रान्ड भए पनि नयाँ ऊर्जा र परिमार्जित नेतृत्वसहितको दलका रूपमा लिन आग्रह गर्नुभयो । “पुरानो रोज्नुप¥यो भने पनि कांग्रेस, नयाँ ऊर्जा रोज्नुप¥यो भने पनि कांग्रेस,” उहाँले भन्नुभयो। शर्माले पाँच वर्ष टिक्ने प्रधानमन्त्री चयन गर्नुपर्नेमा जोड दिँदै प्रत्यक्ष र समानुपातिकतर्फ बढी मत ल्याउने दललाई सरकार गठनको अवसर दिन अन्य दललाई चुनौती दिनुभयो । “देशमा आर्थिक विकास र समृद्धि चाहने हो भने राजनीतिक स्थायित्व अनिवार्य छ,” उहाँको भनाइ थियो । कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं १, २ र ३ का उम्मेदवारहरू तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुुरुङले आआफ्ना चुनावी प्रतिबद्धतासहित भनाइ राख्नुुभएको थियो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, सहसचिव एवं प्रवक्ता नवीन सिग्देल लगायतले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्पसहित आएको भन्दै कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतसहित विजयी गराउन आग्रह गर्नुुभयो ।

प्रतिकृया दिनुहोस्