
नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई निष्कासन गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप छ । बैठकबाट बाहिरिनेक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी पेस गरेको १५ औँ महाधिवेशनको कार्य तालिकासहित सबै निर्णयहरू पारित गरेको जानकारी दिनुभयो । सानेपामा दिउँसो ३ बजेतिर भएको यो निर्णयले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई नयाँ नेतृत्व चयन गर्ने बाटो खोलिदियो । देउवा पक्षधर नेताहरुसँग वार्ता चलिरहेकाले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया स्थगित गरिँदै आएको थियो । तर एकता जोगाउने प्रयत्न असफल भएपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढ्यो ।
विभाजन पछि दुई पक्षबीच आधिकारिकताको संघर्ष शुरू भएको छ । देउवा पक्षले निर्वाचन आयोगलाई २९ पुसपछि पार्टीको कुनै कार्यक्रम नभएको जानकारी दिएर विशेष महाधिवेशनलाई मान्यता नदिन निवेदन दिइसकेको छ । विशेष महाधिवेशन पक्षधरले यसअघि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहितको निवेदन दिइसकेको थियो । उनीहरुले आफूसँग बहुमत रहेकाले देशको संविधान, कानुन र पार्टीको विधानले कांग्रेस नाम, रुख चिन्ह र चारतारे झण्डामा दाबी गरिसकेका छन् ।
कुन पक्षले आधिकारिकता पाउँछ भन्ने अब आयोगको निर्णय कुर्नुपर्नेछ । यो विभाजनको दोष भने एकअर्कामाथि लगाएका छन् । पार्टी फुटेको सन्देश सुनाउँदै कार्यबाहक सभापति खड्काले महामन्त्रीहरुलाई दोष दिएका छन्, ‘महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनुभयो । उहाँहरु कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष होइन जसरी विशेष महाधिवेशनमा लाग्नुभयो, पार्टीलाई विभाजनमा धेकेल्नेगरी ।’ वार्ताका क्रममा पनि सम्बोधन गर्नै नसकिने माग राखेको खड्काले बताए । ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ । महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक सन्यास र निर्वाचन हाइकमाण्ड बनाउने प्रस्ताव गर्नुभएको हो । यसमा केही मिल्नै नसकिने खालका थिए,’ सानेपामा खड्काले भनेका थिए । एकता जोगाउने विकल्पमा विशेष महाधिवेशन पक्षधरले ८ बुँदे प्रस्ताव पठाएका थिए । जहाँ, देउवाले कार्यकारी भूमिकाबाट अलग हुनुपर्ने र टिकट बाँड्नेगरी अन्तरिम नेतृत्व चयन गरिनुपर्ने माग राखिएको थियो । तर अन्तरिम नेतृत्व लिने पात्र देउवाकै रोजाइलाई मान्न तयार हुने समेत उनीहरुको सन्देश थिएका थिए । तर बदलिएको परिस्थिस्तिमा पार्टी बदल्ने प्रस्ताव अस्वीकार गरी उल्टै कार्बाहीको निर्णय गरेर विभाजनको बाटो खुला गरिएको गगन–विश्वले तर्क गरेका छन् । यो पक्षले पार्टी विभाजनको दोष देउवा र उनलाई साथ दिने नेताहरुलाई दिएका छन् ।






