Pokharapatra National Daily

जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढेका छौंः उपसभापति डा.स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा अब जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको बताउनुभयो ।
शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सदस्य भेला तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उपसभापति वाग्लेले रास्वपा अब ‘म्याजिक नम्बर’ को पछि नलागी जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको दाबी गर्नुभयो ।
संसदमा सीमित संख्यामा रहँदाको अनुभवले रास्वपालाई अब निर्णायक शक्ति बन्नैपर्ने निष्कर्षमा पु¥याएको उहाँले उल्लेख गर्नुभयो । आगामी निर्वाचनमा आफ्नो पार्टीले प्रतिनिधिसभामा १ सय ५१ सिट जितेर मुलुकलाई नयाँ दिशामा अघि बढाउने दबी गरे । उहाँले भन्नुभयो, “२ सय ७५ सदस्यीय संसदमा २१ सांसदको हैसियतले काम गर्नुपर्दाको पीडा हामीले नजिकबाट भोग्यौं, त्यसैले अब ५०–६० सिटमा सीमित भएर बस्ने होइन, स्पष्ट बहुमतका साथ मुलुक हाँक्ने तयारीमा छौं ।”
उपसभापति वाग्लेले पछिल्ला सात दशकको राजनीतिक इतिहास स्मरण गर्दै ठूला दलहरूले पटक–पटक प्राप्त गरेका ऐतिहासिक अवसर सदुपयोग गर्न नसकेको टिप्पणी गर्नुभयो । २०४८ सालमा नेपाली कांग्रेस, २०६४ सालमा नेकपा माओवादी र २०७६ सालमा नेकपा एमालेले झण्डै दुई तिहाइको अवसर पाए पनि आन्तरिक द्वन्द्व, शक्ति संघर्ष र पदको लुछाचुँडीका कारण ती अवसर गुमाएको उनले जनाए । “अब चौथोपटक मुलुकले नयाँ अवसर पाउँदैछ,” उहाँले भन्नुभयो, “विगतका दलहरूले गरेका कमजोरीबाट पाठ सिक्दै रास्वपाले उन्नत, जिम्मेवार र सुसंस्कृत राजनीतिक अभ्यास गर्ने संकल्प लिएको छ ।”
पार्टी विस्तार र सुदृढीकरणका क्रममा केवल ‘अर्गानिक’ रूपमा मात्र सीमित रहन नपुग्ने उल्लेख गर्दै उपसभापति वाग्लेले विशाल र बलियो पार्टी निर्माणको विकल्प नरहेको स्पष्ट पार्नुभयो । रास्वपाको अभियान दिन दुई गुणा र रात चौगुणा बढि रहेको दाबी गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि पार्टी र पार्टीभन्दा माथि मुलुकलाई राखेर आफुहरु अघि बढेको जनाउनु भयो । उहाँले युवापुस्ताको आशाका केन्द्रका रूपमा रहेका बालेन शाह र कुलमान घिसिङजस्ता व्यक्तित्वहरूलाई अभियानमा जोड्नु पार्टीलाई थप सबल बनाउने उद्देश्यका साथ गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा उपसभापति वाग्लेले थारु समुदाय, दलित समुदायसहित विभिन्न दल र व्यक्तित्वहरू छिट्टै रास्वपाको महाअभियानमा जोडिन लागेको जानकारी दिनुभयो । सोही अवसरमा नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, नेकपा एमालेका नेता तथा व्यवसायी पुष्प अधिकारी र कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा एकै साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । कार्यक्रममा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले उहाँहरुलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्नु भएको थियो । कांग्रेसबाट निष्कासनमा परेपछि खड्का रास्वपा प्रवेश गर्नुभएको हो । संघीय महिला, बालबालिका तथा समाज कल्याण मन्त्री र गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत भईसक्नु भएको खड्का माथि पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेपछि कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । पछिल्लोपटक कारबाही फुकुवा भए पनि आफूले निर्णय लिइसकेको भन्दै कांग्रेस नफर्किने अडानसहित उहाँ रास्वपामा आबद्ध हुनुभएको हो । संघीयताको विरोधको आधारमा गठन गरिएको ‘अखण्ड नेपाल पार्टी’ बाट २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेर संघीय संसद प्रवेश गर्नुभएका खड्का प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री समेत हुनुभएको थियो । त्यसपछि राजनीतिक भविष्य सुरक्षित गर्ने रणनीति सहित आफ्नो पार्टी कांग्रेसमा विलय गराउँदै गण्डकी प्रदेशबाट समानुपातिक सांसद हुँदै शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । तर पछिल्लो समय कांग्रेस भित्र अवसर नपाएपछि नयाँ शक्तिको रोजाइमा रास्वपा पुगेको राजनीतिक वृत्तको विश्लेषण गर्न थालेका छन् ।
रास्वपामा प्रवेश गर्नुभएकी व्यवसायी मिलन थापा यसअघि कांग्रेस महाधिवेशन प्रतिनिधि रहनुभएको थियो । उहाँ गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाकी भाइबुहारी तथा व्यवसायी ध्रुव थापाकी पत्नी हुनुहुन्छ । कांग्रेसको पारिवारिक राजनीतिक विरासत त्यागेर रास्वपा प्रवेश गर्नुभएको विषयलाई कास्कीमा चासोका साथ हेरिएको छ । त्यसैगरी, एमालेका नेता पर्यटन व्यवसायी पुष्प अधिकारी पनि शनिबारै रास्वपामा आबद्ध हुनुभएको छ । रुपाकोट रिसोर्टका सञ्चालक समेत रहनुभएका अधिकारी अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका आकांक्षी हुनुहुन्थ्यो । उहाँ एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुनु भएको थियो ।

प्रतिकृया दिनुहोस्