Pokharapatra National Daily

नेवारी सांस्कृतिक उत्सव ‘झोः भ्वयः’ शनिबार हुने

पोखरामा नेवारी सांस्कृतिक उत्सव ‘झोः भ्वयः’ (नेवारी पारम्परिक भोज) को चौथो संस्करण यही पुस १९ गते शनिबार आयोजना हुने भएको छ ।
भीमसेनटोल स्थित नेवा छेंमा हुने उक्त कार्यक्रममा १ हजार ५ सय भन्दा बढीको सहभागिता हुने गरी तयारी गरिएको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्यले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । नेवारी समुदायको संस्कार, संस्कृति र खानपानको संरक्षण तथा प्रवद्र्दन गर्ने उद्देश्यले तीन–तीन वर्षमा एकपटक झ्व भ्वय आयोजना गर्दै आएको बताउदै उहाँले २०७२ सालदेखि उक्त कार्यक्रमलाई सुरु गरिएको उल्लेख गर्नुभयो । सांस्कृतिक मूल्य र परम्परागत खानपान युवापुस्तासम्म पुरÞ्याउने लक्ष्य समेत राखिको अध्यक्ष बज्राचार्यले बताउनु भयो । नेवारी समुदायका लागि सांस्कृतिक पहिचान मात्र नभई जाडो महिनामा अनिवार्य भोजको धार्मिक–सांस्कृतिक परम्परा समेत जोडिएको उहाँले बताउनु भयो । “हाम्रो फुड कल्चर, संस्कार र प्रचलन नयाँ पुस्ताले प्रत्यक्ष अनुभूति गर्न पाओस् भनेर कार्यक्रमलाई अझ प्रभावकारी बनाएका छौँ,”– अध्यक्ष बज्राचार्यले भन्नुयो । शनिबार हुने उक्त झ्व भ्वयमा १ हजार ५ सय भन्दा बढी सहभागीलाई परम्परागत ढंगले स्वागत र भोज गराउने भएको छ ।
नेवार तथा गैरनेवार सबैका लागि खुला रहने कार्यक्रममा वासा सगुनबाट स्वागत गर्दै नेवारी पक्वानका सुकेला, ग्रेभीयुक्त, झोलिला परिकार क्रमशः खुवाइने भएको अध्यक्ष बज्राचार्यले बताउनु भयो । भोजसँगै निरन्तर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने संयोजक सोनी ढेवाजुले बताउनुभयो । नेवारी गीत–संगीतमा विगत महिनाहरुमा चर्चामा रहनु भएको निसा देशार लगायत कलाकारहरूले प्रस्तुती हुने भएको छ । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले झ्व भ्वय कार्यक्रमले नेवारी भाषा, संस्कार र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उक्त कार्यक्रम नयाँ पुस्ताका लागि नेवारी संस्कृतिको जीवन्त बिद्यालय जस्तै रहेको उहाँको आशाय थियो । कार्यक्रमको मुख्य प्रायोजन फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटनले गर्ने भएको छ । त्यस्तै विशेष सहयोगीका रुपमा पोखरा महानगरपालिका–९ को कार्यालय रहेको महासचिव किरण बिजुक्छेले बताउनु भयो । उक्त भोजमा सहभागि हुनको लागि प्रति व्यक्ति ८ सय ५० रुपैयाको शुल्क निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस्