Pokharapatra National Daily

पोखरा रंगशालामा नेपथ्यको कन्सर्टमा १५ हजार दर्शक भित्रिए

पोखरा रंगशालामा शुक्रबार साँझ चर्चित सांगीतिक समूह नेपथ्य ब्याण्डको प्रस्तुति अवलोकन गर्न करिब १५ हजार दर्शक सहभागी भएका थिए ।
‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित नेपाल प्रिमियर लिग (एनपिएल) का फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गरेको यस कन्सर्टका लागि ६ हजार टिकट (जर्सी बुकिङ) पहिले नै बिक्री भइसकेको थियो । साथै, शुक्रबार थप एक हजार टिकट र एक हजार पास वितरण गरिएको आयोजकले जनाएको छ । कन्सर्टको मध्यभागतिर करिब ७ः१५ बजेसम्म टिकट नपाएका करिब ५ हजार दर्शकलाई निःशुल्क प्रवेश गराइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले बताउनु भयो । “पोखरेली दर्शकहरूको असाधारण उत्साह र भीडले हामी सबै उत्साहित भयौं,” आयोजक तथा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भन्नुभयो । उहाँका अनुसार, क्रिकेट र संगीतलाई जोड्ने उद्देश्यले यो कन्सर्ट आयोजना गरिएको हो । कन्सर्टको लागि प्रवेश दिउँसो ४ः०० बजेदेखि खुला गरिए पनि साँझ ६ः३० बजेसम्म दर्शकहरू लामो लाइनमा हुनु भएको थियो । नेपथ्यले ६ः१५ देखि ८ः१५ बजे सम्म करिब दुई घण्टा दमदार प्रस्तुति दिएको थियो । नेपथ्यका प्रमुख गायक अमृत गुरुङले पोखराली दर्शकको उत्साहप्रति आभार व्यक्त गर्दै आफ्नो वाल्यकालको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले कमाएको केही रकमबाट विद्यालय जानबाट बन्चित बालबालिकाका लागि अक्षयकोष स्थापना गरेर भए पनि सबैलाई पढ्ने वातावरण मिलाउनुपर्छ यो रंगशाला बनाउन जो जोले साथ र सहयोग गर्नु भयो सबैमा धन्यवाद छ है ।” आगामी निर्वाचनमा “राम्रो उमेदवार छनोट गर्न आफ्नो अमूल्य मत विवेकपूर्वक प्रयोग गर्न” उहाँले सन्देश दिनुभयो ।
‘तालको पानी माछिले खानी’, ‘नैनतालमै नैनतालमा’, ‘जोमसोमे बजार १२ बजे हावा सरर’, ‘भेडाको उन जस्तो’ गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ लगायत गितहरु प्रस्तुतः गर्दा प्रस्तुत गर्दा रंगशाला झनै गुञ्जायमान भएको थियो । नेपथ्यको जर्सी बिक्री अभियान अन्तर्गत पहिलो एक हजार जनालाई रु ९९९ मा र नियमित मूल्य रु १४९९ मा जर्सी उपलब्ध गराइएको थियो । जर्सी खरिद गर्ने समर्थकहरूलाई नै कन्सर्ट प्रवेश दिइएको थियो ।आयोजकका अनुसार, कन्सर्टबाट संकलित केही रकमबाट गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गरिनेछ । करिब एक अर्ब २८ करोड रुपैयाँ लागतमा निर्मित पोखरा रंगशाला फुटबल स्टेडियममा प्रायः ‘आहा–रारा गोल्ड कप’ बाहेक अन्य ठूला प्रतियोगिता नहुने हुँदा, खेलकुदकर्मीहरूले नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न माग गरेका छन्। केही खेलकुदकर्मीले रंगशालामा उक्त कार्यक्रम गर्दा फुटबल मैदानको दुवो मर्ने चिन्क्ता व्यक्त गर्नु भएको थियो । पोखरामा नेपथ्यको यो प्रस्तुति सबै उमेर समूहका दर्शकका लागि अविस्मरणीय बन्यो जहाँ संगीत, भावना र उद्देश्य एउटै तालमा धड्किँदै सुनियो ।

प्रतिकृया दिनुहोस्