Pokharapatra National Daily

सरकारी पुनर्कर्जा नपाएको होटलकर्मीको गुनासो

कोभिड– १९ बाट ग्रसित उद्योग व्यवसायलाई राहातका लागि सरकारले चालू बजेट मार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म आफूहरुले पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् ।
कोभिड संक्रमणले होटल तथा पर्यटन व्यवसायमा देखा परेका समस्याहरुमा केन्द्रित भएर पश्चिमाञ्चल होटल संघ पोखराले आइतबार यहाँ आयोजना गरेको वृहत छलफल कार्यक्रममा व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक मार्फत् सहुलियत दरको पुनर्कर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा कुनै पनि व्यवसायीले त्यस्तो कर्जा पाएको उदाहरण आफूहरुसँग नभएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो मारमा परेको अवस्थामा सदस्य तथा पदाधिकारी व्यवसायीविच एकअर्कालाई परेका समस्या आदानप्रदान गर्ने र तिनलाई समाधान गर्न पहल गर्ने उद्धेश्यले कार्यक्रम राखिएको अध्यक्ष तुलाचनले सो अवसरमा बताए ।
कार्यक्रममा नेपाल सरकारद्वारा व्यवसायीहरुलाई राहत प्रदान गर्ने उदेश्यले बैंक तथा वित्तिय संस्थाहरु मार्फत् प्रदान गर्ने पुनर्कर्जा, कर्जाको पुनर्तालिकिकरण र सहुलियत कर्जा प्राप्त गरे नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जिवन रक्षा (कोष) कर्जा सम्बन्धमा छलफल गरिएको थियो । यसैगरी विद्युत माग (डिमाण्ड) शुल्क तथा महशुल एवम् विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए । सो अवसरमा गण्डकी प्रदेश सरकारले व्यवसायीका लागि ल्याएको पुनर्कर्जा समेत हालसम्म वितरण हुन नसकेको र ढिलोगरी बल्ल आवेदन माग भएको कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा बोल्दै होटल संघ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढंगले व्यवसायीले पुनर्कर्जा पाउन नसक्नु दुःखद भएको बताए । अहिले पर्यटन व्यवसाय डुब्ने कि उत्रने भन्ने जस्तो अवस्थामा रहेको स्मरण गराउँदै पौडेलले गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीलाई समेत व्यवसायीका समस्या बारे अवगत गराइसकिएको जानकारी गराए ।
पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रले उद्योग सरहको लाभ लिन नपाएको भन्दै यसका लागि व्यवसायिक एकता मार्फत् सरकारलाई दवाव दिन जरुरी भएको भनाई राखे । होटल संघ नेपालका अर्का केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नहुँदा पनि पर्यटन व्यवसाय अहिले थप प्रताडित हुनु परेको दुःखेसो पोखे । संघका सल्लाहकार गोविन्दराज पहारीले सबैभन्दा पीडित नै अहिले होटल क्षेत्र भएको भन्दै यो क्षेत्रलाई रुग्ण उद्योगको रुपमा सरकारले घोषणा गरेर सहुलियत दिनुपर्ने माग गरे ।
अग्रज पर्यटन व्यवसायी रामचन्द्र बहादुर भट्टराईले कोभिडको असर अझै कम्तिमा तीन बर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालिन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव राखे । कार्यक्रममा व्यवसायीले सरकारले पुनर्कर्जाको व्यवस्था गरे पनि त्यो पाउन नसकिएको, बैंकले अनेक बाहना बनाएर व्यवसायीलाई दुःख दिने गरेको, झुलाउने गरेको र साना व्यवसायीलाई वास्ता नगरेको गुनासो सुनाएका थिए । विद्युत शुल्कमा समेत पुरानो विल छुटेछ भन्दै नेपाल प्राधिकरणले लाखौंको विल पठाउने गरेको, आफ्नो गल्तीको भागिदार व्यवसायीलाई बनाएको सो अवसरमा सुनाइएको थियो । कार्यक्रममा व्यवसायी दयानन्द पोखरेल, लक्ष्मीनारायण श्रेष्ठ, रविचन्द्र हमाल, हितमान गुरुङ, ओमनाथ अधिकारी लगायतले भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्