Pokharapatra National Daily

आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते

पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो ।
अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुुभयो । मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एम्बुलेन्सबाट लगिएको थियो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ ।
महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको उहाँका प्रेस संयोजक भीम थापाले जानकारी दिनुुभयो । महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।
यसैगरी उहाँहरुको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी लिनुभएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर मन्त्री पौडेलले उपप्रम पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । मन्त्री पौडेलले चिकित्सकबाट राम्रोसँग उपचार भइरहेको जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो । मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको भन्दै त्यसैका लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइएको बताउनुभयो । “जलनको उपचार सकेसम्म चाँडो बनाउने वातावरण तयार पार्न हामी लागि परेका छौँ, सुधारका कामले नतिजा दिन थालिसकेका छन्”, उहाँले भन्नुभयो ।
त्यस क्रममा मन्त्री पौडेलले अरू बिरामीको उपचार अवस्था र अस्पतालको सेवाबारे जानकारीसमेत लिनुभएको थियो । वीर अस्पतालअन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भइरहेको छ । मन्त्रालयले प्रादेशिक अस्पतालमा समेत यो सेवा विस्तार गर्ने गरी काम अघि बढाइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्