Pokharapatra National Daily

दशैं टिकाको दिन निःशुल्क बस सेवा संचालन हुने

दशैँ टीकाको दिन शनिबारपोखरामा निःशुल्क बस सेवा संचालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्कीको अगुवाईमा पोखरामा ७ वटा रुटमा १८ वटा बसहरुबाट नि शुल्क बस सेवा संचालन हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो । सर्वसाधारणको सुविधाका लागि मध्यनजर गरी पोखरामा पहिलो पटक दशैं टिकाको दिनमा निःशुल्क बस सेवा संचालन हुने तयारी गरिएको उहाँले जनाउनु भयो । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक पोखरामा धेरै रुटमा समेटेर विभिन्न बस कम्पनीहरुको सहकार्यमा निःशुल्क बस सेवा संचालन गर्ने तयारी गरेको प्रजिअ पाण्डेले जनाउनु भयो ।
पोखराका विभिन्न ७ वटा रुटमा चल्ने त्यस्ता १८ वटा बसमा बिहान ७ देखि दिउँसो ४ बजेसम्म यात्रा गर्दा निःशुल्क बस सेवा संचालन हुने भएको हो । प्रमुख जिल्ला अधिकारी पाण्डेले पोखरा महानगरपालिकामा धेरै जनताको बसोबास रहेको र दशैँका दिन अन्य दिनको तुलनामा सार्वजनिक सवारीका साधन कम चल्ने भएकाले यस्तो सुविधा दिने भएको बताउनु भयो । उपभोक्ताको हकहितको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको सुझाव अनुसार स्थानीय प्रशासनको समन्वयमा पोखरा महानगरपालिका र यातायात व्यवसायीको सहकार्यले यात्रुलाई सुविधा दिने भएको प्रजिअ पाण्डेको विश्वास व्यक्त गर्नु भयो । उक्त अभियानमा ४ वटा कम्पनी पृथ्वी राजमार्ग बस संचालक कम्पनीले ३ वटा, स्थानीय यातायात कम्पनीले २ वटा, पोखरा यातायात प्रालिले ९ वटा र वेगनास पोखरा यातायातले ४ वटा गरी १८ बस वटा बसबाट सेवा दिने भएका हुन् । पृथ्वी राजमार्ग बस संचालक कम्पनीले हेमजा–पोखरा रुटअन्तर्गत फेदी–हेमजा–हरिचोक–पृथ्वीचोकसम ३ वटा बस संचालन हुने भएका छन्।
स्थानीय यातायात कम्पनीले तनहुँ र कास्कीको सिमाना कोत्रेदेखि पोखरासम्म २ वटा चलाउने छ । ती गाडी कोत्रेदेखि पृथ्वीचोक–चिप्लेढुंगा हुँदै विन्ध्यवासिनी बसपार्क रुटमा चल्नेछन् । यस्तै, पोखरा यातायातका ९ गाडीले विशेषगरी पोखराका मुख्य क्षेत्रमा सुविधा दिने छन् । तीमध्ये ३ गाडी लामाचौर–बगर–महेन्द्रपुल–बिरौटा–छोरेपाटन, ३ गाडी महेन्द्रगुफा–महेन्द्रगुफा–चिप्लेढुंगा–लेकसाइड र ३ गाडी काहुँखोला–पृथ्वीचोक–हल्लनचोक रुटमा चल्ने छन् । वेगनास पोखराका ४ मध्ये २ गाडी वेगनास ताल–तालचोक–पृथ्वीचोक हुँदै विन्ध्यवासिनी बसपार्क र २ गाडी राजाको चौतारा–सातमुहाने–खुँदै हुँदै विन्ध्यवासिनी बसपार्क रुटमा चल्ने छन् । प्रशासन कार्यालयले चाडपर्वको समयलाई मर्यादित बनाउन विभिन्न कार्यक्रममा तालिमप्राप्त कुकुरसहित चेकिङ, बजार अनुगमनमा तीव्र, सवारी चेकजाँच, हेल्प डेस्कसमेत स्थापना गरेको जनाइएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अध्यक्ष केदार पौडेल, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री लगायतले बोल्नु भएको थियो ।
पत्रकार सम्मेलनमा पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरु प्रशासनको अनुरोधमा सहमत भएको बताउनु भयो । अघिल्लो बर्षमा ७५ हजार बढीले टिकट बुकिङ गरे पनि हाल यस बर्ष हालसम्म ५ हजार जनाले मात्र अग्रिम टिकट बुकिङ गरेको उहाँले बताउनुभयो । उक्त अभियानमा खटिने चालक तथा सहचालकलाई पोखरा महानगरले भक्ता दिने भएको पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्