Pokharapatra National Daily

स्वास्थ्य बिमा ५ लाख नै पुर्याउनु पर्छः मन्त्री पौडेल

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि ५ लाख पुर्याउनु पर्ने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखसम्म कायम भएको स्वास्थ्य बिमालाई बढाएर ५ लाख पुर्याउनु पर्ने बताउनु भएको हो ।
एक लाखको बिमा प्रभावकारी नभएका वेला ५ लाखको कुरा गर्छ भनेले आफुलाई हाल केही समुहले उडाउने गरेको मन्त्री पौडेलले सुनाउनु भयो । व्यबस्थापन गरेमा सम्भव हुने दाबी गर्दै मन्त्री पौडेलले सरकारी तथा गैरकारी कर्मचारीले आफ्नो तलवको २ प्रतिशत बिमाको क्षेत्रमा लगानी गर्दा यसमा राज्यको कुनै आर्थिक भार नहुने जनाउनु भयो । बृद्ध भक्ताको बर्षमा एक महिनाको रकम समेत स्वास्थ्य बिमा गराउन बृद्धबृद्धाहरु यस बिषयमा राजि हुने उहाँको भनाई थियो । स्वास्थ्य बिमा सबै भन्दा बढी लाभ बृद्धबृद्धाहरुले लिनु हुने हुँदा उहाँहरुको सबै उपचार बिमाबाट हुने व्यबस्था गर्न आवश्यक भएको मन्त्री पौडेलले जनाउनु भयो । राज्यले हाल उपलब्ध गराउदै आएको बृद्ध भक्ता अहिलेकै अबस्थामा आगामी १० बर्ष पछि दिन नसक्ने अबस्थामा पुग्ने उहाँले ठोकुवा गर्नु भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रममा वोल्दै मन्त्री पौडेलले एक सय दिन भित्र १५ बेडको आसियू कक्ष बढाउन प्रतिष्ठानलाई निर्देशन दिनु भयो । प्रश्न उठ्ने गरि स्वास्थ्य सामाग्री खरिद गर्न सरकारले नचाहेको उहाँले बताउनु भयो । स्वास्थकर्मीलाई १४ महिनाको सेवा सुविधा उपलब्ध गराउने बिषयमा अर्थमा प्रस्ताव गरेको मन्त्री पौडेलले जनाउनु भयो । हाल बिदाका दिनमा पनि स्वास्थ्य सेवामा खटिन कर्मचारीलाई आग्रह गर्दै मन्त्री पौडेलले केही न केही सेवा सुविधा उपलब्ध गराउने जनाउनु भयो । स्वास्थ्य सेवालाई अनलाइन प्रणालीमा लैजानु पर्ने बताउदै उहाँले अस्पतालको सेवाको आधारमा बर्गीकरण गर्नुपर्नेमा जोड दिनु भयो । वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच क्यान्सर रोगको उपचार सेवा बिस्तार सम्बन्धमा मंगलबार सम्झौता भएको छ । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेल र प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्री बिच सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा कार्यक्रम भएको थियो । क्यान्सरको स्क्रेनिङ, केमो थेरापी र परामर्श अब पोखराबाटै हुने भएको प्रतिष्ठानका निर्देशक खत्रीले जनाउनु भयो । उक्त सेवा यही महिनाको केही साता भित्र संचालन गर्ने गरी तयारी गरेको उहाँले जनाउनु भयो ।
जनशक्तिलाइ नियमानुसार यातायात, खाजा लगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था मिलाउनु पर्ने, प्रथम पक्षले सेवा संचालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्ने, विस्तारित सेवाको हकमा महिनाको कम्तीमा एकपटक सेवा सञ्चालन गर्नु पर्ने र विस्तारित सेवामा बहिरङ्ग, अन्तरङ्ग एवं उपचार समेत समेटी सेवा प्रदान गर्नु पर्ने सहमती पत्रमा उल्लेख गरिएको छ । यसैबिच मन्त्री पौडेलले प्रतिष्ठानको विभिन्न विभाग तथा सेवा प्रवाह भएको ओपीडीको अध्ययन अवलोकन गर्नु भएको निर्देशक डा.खत्रीले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्