Pokharapatra National Daily

कास्कीमा स्वरुप परिवर्तन गरेका २०३५ मोटरसाइकल कारवाहीमा

कास्कीमा स्वरुप परिवर्तन(मोडिफाई) गरेका २ हजार ३५ वटा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा परेका छन् ।
गत असोज २१ गते देखि स्वरूप परिवर्तन गरेका मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरी उक्त अभियान सुरु गरेसंगै चालु आथिक वर्षको भदौं २ गतेसम्म हेर्दा २ हजार ३५ वटा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो ।
उक्त सङख्यामा मोटरसाइकल तथा स्कुटर कार्वाहीमा पर्दा २९ लाख ८ सय रुपैया जरिवाना अशुल उपर गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताउनु भयो । गत असोज २१ गतेदेखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही सुरु भएको उहाँले जनाउनु भयो । गत फागुन १७ गते देखि २० गतेसम्म पुनः त्यस्ता ५९ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको कार्यालयले जनाएको छ । यसै क्रममा गत श्रावण ३० गते देखि भदौ २ गतेसम्म १ सय ४९ थान मोटरसाइकल नियन्त्रणमा लिई कारवाही प्रक्रियामा रहेको एसपी थापाले जनाउनुभयो । उक्त कार्वाहीबाट २२ लाख राजस्व उठ्ने अनुमान गरिएको छ । आफु पोखरामा रहदासम्म पोखरालाई ध्वनि र सकेसम्म प्रदुषण कम बनाउने अभियानमा लाग्ने उहाँले जनाउनु भयो ।
जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा विगत लामो समयदेखि स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आईरहेको एसपी थापाले जनाउनु भयो । स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरूलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको कार्यालयले जनाएको छ । स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम रू.१५,०००।– सम्म जरिवाना हुने व्यवस्था रहेको छ । यस्ता कार्यमा संलग्न सवारी धनी र वर्कसप संचालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने प्रहरीले चेतावनी दिदै आएको छ । स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, ध्वनी प्रदुषण, विरामी, वृद्दवृद्दा, वालवालिका तथा संवेदनशील क्षेत्र (अस्पताल स्कुल) मा प्रत्यक्ष असर पर्ने भएको प्रहरीले जनाएको छ । कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्